Erani Mahal
पाल्पामा विद्युतकाे सबस्टेन निर्माणमा ढिलाइ : मुआव्जामा स्थानीयकाे असन्तुष्ट
bidhut
पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. १ स्थित चिर्तुङ्धारामा बन्न लागेको २२० केभी सबस्टेसन आयोजनाको काममा ढिलाई भएको छ । मुआव्जा वितरणमा असन्तुष्टि जनाउँदै स्थानीय जग्गा धनीले मुआव्जावापतको रकम नबुझेपछि सवस्टेसन निर्माणको काममा ढिलाई भएको हो । पाल्पासहितका जिल्लाको विद्युत् अबरोध हटाउन चिर्तुङ्धारामा सवस्टेसन निर्माण गर्ने विद्युत् प्राधिकरणको योजना छ । त्यसका लागि माडी चक्रपथ नजिकका खेतीयोग्य १७४ रोपनी जग्गा अधिकरणको प्रक्रिया अघि बढिसकेको छ । यद्यपी एक वर्षको अबधिमा पनि जग्गा धनीलाई मुआव्जा वितरणको काम सकिएको छैन । स्थानीय जग्गाधनीले बजारमुल्य अनुसार जग्गाको क्षतिपूर्ति रकम नपाएको भन्दै मुआव्जा बुझ्न मानेका छैनन् । सव स्टेसन बनाउन भनिएको स्थानका ५३ जग्गाधनीमध्ये अधिकांशले मुआव्जा लिन मानेका छैनन् । उनीहरूले जग्गाको पुनःमुल्याङ्कन हुनुपर्ने भन्दै जिल्लाका राजनैतिक दल, प्रशासन, आयोजना कार्यालय तथा सरोकारवाला पक्षलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गरेका छन् । हाल निर्धारण भएको क्षतिपूर्तिको रकमले त्यस क्षेत्रमा खेतीयोग्य जग्गा खरिद गर्न नसकिने जग्गा धनीहरूको भनाई छ । उनीहरूले एउटै सरकारी निकायबाट पनि सोही स्थानको जग्गाको मुल्याङ्कन फरक–फरक गरेकोमा आपत्ति जनाएका छन् । हाल निर्धारण भएको मुल्याङ्कनको रकमले आफूहरू सडकमा जाने अवस्था सिर्जना भएको स्थानीय प्रभावित क्षेत्रका जग्गाधनी खुमबहादुर चिदीले गुनासो गर्नुभयो । जग्गाको मुल्य निर्धारण गर्नुअधि आफूहरूसँग कुनै छलफल नगरेको र हचुवामा मुल्य निर्धारण गरेर विस्थापित गर्न खोजेको उहाँको भनाई छ । आयोजना पक्षले भने तत्कालै सवस्टेसन निर्माण गर्ने क्षेत्रमा जग्गा सम्याउने, स्टक्चर बनाउने काम सुरु गरिने जनाएको छ । तत्काल सवस्टेन रहने क्षेत्रमा पूर्वाधार निर्माणको काम सुरु हुने आयोजना प्रमुख अर्जुन महर्जनले जानकारी दिनुभयो । माघदेखि नै काम सुरु गर्ने योजना भएपनि मुआव्जालगतयका कारणले ढिलाई भएको उहाँले बताउनुभयो । विगत डेढ दशकदेखि पाल्पामा भोल्टेज नहुने, वर्षात्को समयमा दुई/तीन दिनसम्म विद्युत् अबरोध हुने समस्या रहेको छ । सोही समस्यालाई समाधान गर्न सवस्टेसन निर्माण हुन लागेको पाल्पा वितरण केन्द्रका सूचना अधिकारी भागीरथ बस्यालले जानकारी दिनुभयो । ‘सवस्टेसन निर्माण भएपछि पाल्पामा पटक–पटक विद्युत् अबरोध हुने समस्या समाधान हुन्छ बस्यालले भन्नुभयो बुटवलबाट विद्युत् काटियो भन्ने अवस्था रहँदैन ।’ आयोजना निर्माण गर्न डेढ देखि दुई अर्ब लागत लाग्ने अनुमान गरिएको आयोजना प्रमुख महर्जनले जानकारी दिनुभयो । हाल बुटवलबाट तानसेनसम्मको ४७ किलोमिटर विद्युत्लाईनबाट जिल्लामा विद्युत् वितरण हुँदै आएको छ । लामो र जङ्गलको क्षेत्रबाट विद्युत् लाइन हुँदा विद्युत् अबरोधको समस्या रहेको पाल्पा वितरण केन्द्र प्रमुख विवेक अधिकारीले जानाकरी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update