Erani Mahal
पाेखरामा 'पाल्पा हाउस' संचालन गर्ने अन्तिम तयारी
Palpa-House
विजय नेपाल, पाल्पा - पाल्पाकाे पहिचान दिने गरी पोखरामा पाल्पा हाउस संचालन गर्ने तयारी गरिएकाे छ । पाल्पाकाे प्रतीक रानीमहलको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालन गर्ने अन्तिम तयारी गरिएकाे हाे । पाल्पाबाट पोखरा आई बसोबास गर्नेहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महलको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो । न्यूरोडस्थित भाटभटेनी भन्दा केही तल रहेको यो शुक्रबारदेखि सञ्चालनमा आउने पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिनुभयाे । ‘पाल्पा हाउस’को शुक्रबार विहान पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य र पाल्पाको तानसेन नगरपालिकाका प्रमुख (मेयर) सन्तोषलाल श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । मायाको प्रतीक रानी महलको बनोटमा सेतो र निलो रङ्गको कम्विनेसनमा निर्माण गरिएको ‘पाल्पा हाउस’ आकर्षक छ । दुई तले भवनमा १७ वटा सटर रहेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयाे । सबै सटरमा पाल्पा र पोखराको पहिचान बोकेका छुट्टाछुट्टै सामानहरुको स्टल रहने उहाँले बताउनुभयाे । पाल्पा र पोखराका मौलिक उत्पादन तथा सांस्कृतिक पहिचानका रुपमा रहेका वस्तुहरु बिक्रीवितरणका लागि राखिनेछन् । ‘पाल्पा हाउस’मा पाल्पाको चिनारीका रुपमा रहेको पाल्पाली करुवा, पाल्पाली ढाकासहितका सामानहरु रहेको स्टल रहेका छन् भने पोखराको पहिचान बोकेको पोखरेली जेठोबुढो चामललगायतका वस्तुहरुका स्टल राखिएका छन् । पाल्पा हाउस भित्रै पाल्पामा उत्पादन भएका फलफूल तथा तरकारीहरु बिक्रीका लागि कृषि बजारसमेत रहने अध्यक्ष घिमिरेले जानकारी दिनुभयाे । ‘पाल्पाका उत्पादक र पोखरेली उपभोक्तालाई जोड्ने उद्देश्यले कृषि बजार राखेकाे घिमिरेले बताउनुभयाे । ‘पाल्पा हाउस’मा पाल्पाली स्वाद दिनेगरी एउटा रेष्टुरेण्टसमेत सञ्चालन गरिने अध्यक्ष घिमिरेले जानकारी दिनुभयाे । जहाँ चर्चित पाल्पाली परिकार चुकाउनी, बटुक, मिसमास, छोयलालगायतको स्वाद लिन पाईने उहाँको भनाई छ । ‘पाल्पाको स्वाद पोखरामै चखाउन पाल्पाली स्वादको रेष्टुरेण्ट राखेका उहाँले बताउनुभयाे । पाल्पाको करुवा र ढाकालाई पोखरामा बजारीकरण गर्ने तथा पोखरेली जेठोबुढो धानलाई पोखराको कोशेलीको रुपमा ब्राण्डिङ गर्ने आफूहरुको योजना रहेको उहाँले बताउनुभयाे । उद्घाटनको अवसरमा बैशाख पहिलो हप्तासम्म ‘पाल्पा हाउस’का हरेक सामानको खरिदमा १० प्रतिशत छुट दिईनेछ ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update