Erani Mahal
तानसेनकाे टुंडिखेल बन्याे आकर्षक
khel maidan
पाल्पा - चार वर्षपछि तानसेनको टुँडिखेल मैदानलाई स्तरोन्नति गर्ने काम सकिएको छ । नगरपालिकाको प्राङ्गणअगाडि बनेको टुँडिखेल मैदानलाई गुरुयोजनाअनुसार स्तरोन्नति गर्ने काम चार वर्षमा सकिएको नगरपालिकाले जनाएको छ। टुँडिखेल सुधार योजनाअन्तर्गत चार वर्षदेखि टुँडिखेल मैदानलाई सम्याउने, खेल्न मिल्ने खालका दुबो लगाउने कार्य भइरहेको थियो। हाल उक्त कार्य सकिएर नगरपालिकालाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको निर्माण व्यवसायीले जनाएको छ। भलिबल, फुटबल, क्रिकेट तथा अन्य खेल खेल्न तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न सकिने गरी टुँडिखेल मैदानको निर्माण कार्य सकिएको नगरपालिकाले जनाएकाे छ । नगरपालिकाले आव २०७६/७७ देखि टुँडिखेल मैदान सुधार योजनाअन्तर्गत खेल मैदानको सुधार काम गरिरहेको थियो। निर्माण व्यवसायीका कारण खेल मैदान निर्माण कार्यमा ढिला गरी सम्पन्न भएको नगरपालिकाले जनाएको छ । टुँडिखेल मैदानको छेउमा ज्येष्ठ नागरिक पार्क र बाल बगैँचासमेत बनाइरहेको छ। त्यसले टुँडिखेलमा घुम्न आएका नागरिकलाई समेत विश्राम गर्न सहज हुने नगरपालिकाले जनाएको छ। टुँडिखेलको दक्षिण भेगमा सार्वजनिक सभा समारोहका लागि छुट्टै मञ्चसहितको मैदानसमेत बनिसकेको छ। टुँडिखेलभित्र पशु चौपाया छिर्न नसक्ने गरी बारबन्देजसमेत गरिएको नगरपालिकाले जनाएको छ। मैदानको संरचनाले नगर कार्यपालिका कार्यालयलाई थप आकर्षक बनाउन सहयोग पुग्ने नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताउनुभयाे । तानसेन नगरपालिकाको तीन करोड ८२ लाख ९४ हजार रुपियाँको लागतमा मैदान सुधार गर्ने कार्य सुरु भएको थियो। मैदान निर्माणको काम छ महिनाअघि नै सकिए पनि नगरपालिकालाई हस्तान्तरण नभएको नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। टुंडिखेल निर्माणकाे काम सकिएकाे छ श्रेष्ठले भन्नुभयाे दूबाेकाे लेभल मिलाउन भनेका छाैँ । दूबाेकाे लेभल र हरियाली राम्राे भएपछि नगरपालिका ग्रहण गर्न तयार छ उहाँले भन्नुभयाे । टुँडिखेल मैदानको स्तरोन्नतिको काम सकिएपछि फुटबल, भलिबल, क्रिकेटलगायतका खेल गतिविधिले निरन्तरता पाउने अपेक्षा गरिएको छ। टुँडिखेल लामो समयसम्म नबन्दा खेलाडी तथा खेल सम्बद्ध सङ्घसंस्था निराश थिए। टुँडिखेल मैदान बनेपछि खेलका गतिविधि बढ्ने खेलाडीहरूकाे विस्वास छ ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update