Erani Mahal
पाल्पाकाे भैरवस्थानमा 'जिपलाइन' सरर-मनै हरर !
jjj
पाल्पा - पाल्पाको भैरवस्थान परिसरमा रहेको ‘जिपलाइन’ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ । जिल्लाका विभिन्न स्थानमा घुम्न आउने पर्यटकहरू रिव्दीकोटस्थित भैरवस्थान मन्दिर परिसरमा रहेको ‘जिपलाइन’मा खेलेर रमाउने गरेका छन् । १० महिनाअघिदेखि भैरवस्थान मन्दिर परिसरमा निर्माण भएको जिपलाइनमा आन्तरिक तथा बाह्य पर्यटक खेल्न जाने गरेका छन् । साहसिक खेलको रुपमा मानिने जिपलाइन चढेर युवायुवतीले मनोरन्जन लिने गरेका छन् । पछिल्लो दश महिनाको अबधिमा तीन हजार बढी मानिस जिपलाइन चढेको सञ्चालक एवं पाल्पा दर्शन प्रालिका कार्यकारी प्रमुख देवबहादुर पचभैँयाले जानकारी दिनुभयो । साहसिक खेलको रुपमा रहेको जिपलाइनमा खेल्ने युवायुवती तथा किशोर–किशोर बढी रहेको उहाँले बताउनुभयो । तीन करोडभन्दा बढी लगानीमा जिपलाइन निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटक पाल्पा भित्र्याउन सहयोग पुगेको पचभैँयाले बताउनुभयो । साविक लुम्विनी अञ्चलका पहाडी जिल्लाहरूमा जिपलाइन खेल्ने ठाउँ नभएकाले पाल्पामा जिपलाइनमा लगानी गरिएको उहाँले बताउनुभयो । भैरवस्थान मन्दिरमा दर्शन गर्न आउने पर्यटक मन्दिरको दर्शनसँगै जिपलाइन पनि खेल्ने गरेका छन् । जिपलाइन ९०० मीटर दुरीको रहेको र उक्त दुरी पार गर्न एक देखि दुई मिनेटको अबधिमा लाग्ने सञ्चालकले बताएका छन् । यसका साथै आफ्नो सेल्फी फोटोसँगै जिपलाइनमा यात्रा गर्ने भिडियो र तस्बिर समेत खिच्ने व्यवस्था रहेको छ । सोही स्थानमा ३८० डिग्रीको साइक्लिङ् गर्ने व्यवस्था समेत रहेको पचभैँयाले बताउनुभयो । साइक्लिङ् समेत एक प्रकारको साहसिक खेल नै हो ।साहसिक खेल्न पाउँदा पर्यटक समेत रमाउने गरेका छन् । जिपलाइन भनेर सुनेपनि भैरवस्थानमा आएर पहिलो पटक यसको आनन्द लिएको बगनासकाली–७ की देवकी थापाले बताउनुभयो । उहाँले सुरुमा जिपलाइन खेल्न डर लागेजस्तो भएपनि खेलेपछि आफूलाई बेग्दै आनन्दको महशुस भएको बताउनुभयो । भैरवस्थान मन्दिरमा पूजा गरेपछि साहसिक खेल जिपलाइन र साइक्लिङ खेल्न पाउन आफूलाई खुसी लागेको कलाकार सुप्रिम मल्लठकुरीले बताउनुभयो । ‘मन्दिरमा घुम्न आउदा साहसिक खेल जिपलाइनमा खेल्न पाइयो मल्लले भन्नुभयो टिकट पनि सस्तो रहेछ ।’
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update