Erani Mahal
तानसेनकाे बाघखाेरमा १० वर्षदेखि अलपत्र 'काेल्ड स्टाेर' पुन: निर्माण गरिदैँ
cold store12 (1)
पाल्पा – तानसेनको बाघखोरमा दश वर्षदेखि अलपत्र शीत भण्डार (कोल्ड स्टोर) पुन निर्माण सुरु भएको छ । तानसेन नगरपालिका र भारत सरकारको सहयोगमा निर्माण सुरु भएको कोल्ड स्टोर अलपत्र भएको एक दशकपछि पुन निर्माण सुरु भएको हो । तानसेन नगरभित्र उत्पादन हुने कृषिजन्य बस्तु भण्डारण गर्न दश वर्षअघि २०६९ साल फागुन २३ गतेदेखि ठेक्का सम्झौतापछि निर्माण सुरु भएको थियो । यद्यपी शीत भण्डार निर्माण नसकिँदै निर्माणको काम एक दशक अलपत्र बनेको थियो । हालै भारत सरकारबाट शीत भण्डार निर्माणको काम पूरा गर्न बजेट दिने आश्वासनपछि पुन उक्त संरचनालाई निर्माण गर्न थालिएको हो । शीत भण्डार निर्माण सकिएर पुनर्निर्माण गर्नुपर्ने बेलामा फेरी निर्माणको काम सुरु गरिएको तानसेन–७ का वडा अध्यक्ष प्रदीप खनालले बताउनुभयो । सुरुमा कछुवा गतिमा निर्माण भएको शीत भण्डारको रकम भुक्तानी नभएपछि निर्माण व्यवसायीले निर्माण रोकेर काम अलपत्र पारेका थिए । अहिले भारत सरकारका प्रतिनिधिले स्थलगत अवलोकन गरेपछि शीत भण्डार निर्माणको काम अगाडि बढेको वडाअध्यक्ष खनालले जानकारी दिनुभयो । दश वर्षअघि दुई वर्षभित्र सम्पन्न गर्ने गरी चार करोड ९९ लाख ९१ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो । त्यसमा तानसेन नगरपालिकाको ५५ लाख ४७ हजार ४६९ रुपियाँ लगानी गरेको तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले जानकारी दिनुभयो । हालै भारत सरकारका प्रतिनिधिसँगको छलफलपछि शीत भण्डार निर्माणको काम पुन सुरु गरिएको सूचना अधिकारी आचार्यले बताउनुभयो । उहाँका अनुसार शीत भण्डारको हालसम्म २७ प्रतिशत काम सम्पन्न भएको छ । यसअघि तानसेन नगरपालिकाले ठेकेदारले समयमै काम नगरेको भन्दै निर्माण व्यवसायीलाई कालोसूचिमा राखेर धरौटी रकम समेत जफत गरेको थियो । तर नयाँ जनप्रतिनिधि आएपछि भने शीत भण्डारलाई पुन निर्माण गर्ने गरी कारबाही फुकुवा गरेको नगरपालिकाले जनाएको छ । ठेकेदारले पुरानै दररेटमा काम गर्ने प्रतिबद्धता गरेकाले कारबाही फुकुवा परेर शीत भण्डार निर्माणको काम अगाडि बढाएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले हालसम्म व्यवसायीलाई दुई करोड १६ लाख रुपियाँ भुक्तानी दिइसकेको छ । रकम दिएपनि ठेकेदारको लापरबाहीले शीत भण्डारको काम समयमै अगाडि बढ्न नसकेको नगरपालिकाको भनाई छ । चार रोपनी क्षेत्रफलमा बन्दै गरेको शीत भण्डार सम्पन्न भएको भए २०० मेट्रिकटन तरकारी तथा फलफुलजन्य बस्तु भण्डारण गर्ने योजना छ ।
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update