Erani Mahal
रेडाद्वारा प्रकाशित कर्म पुस्तक विमोचन
rrr
पाल्पा – ग्रामीण आर्थिक विकास संघ रेडाले ‘कर्म’ नामक पुस्तक प्रकाशन गरेको छ । तानसेन नगरपालिका, हेफर नेपाल र रेडाको सहयोगमा संचालित कार्यक्रमको बारेमा जानकारी तथा कामबारे उल्लेख गरिएका सामग्री सहितको पुस्तक प्रकाशन गरिएको हो । पुस्तकको मंगलबार तानसेनमा विमाचन गरिएको छ । पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले कार्यक्रम संचालनबाट यसले उपलब्धी हासिल गर्नुपर्नेमा जोड दिनुभयो । तानसेनलाई कृषि र पर्यटन क्षेत्रमा विकास गर्न सकिने बताउँदै उहाँले गैरसरकारी संस्थाले सरकारको सहयोग बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले तानसेन नगरपालिकाले ८० प्रतिशत लगानी गरेपनि मानिसले गैरसरकारी संस्थाको कार्यक्रम हो भनेर बुझ्ने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । हेफरसँगको सहकार्यमा काम गर्दा महालेखाले सैद्धान्तिक रुपमा बेरुजु लेखेको उल्लेख गर्दै उहाँले त्यसलाई सुधार गर्न सकिने धारणा राख्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिङ्जालीले कार्यक्रमले आर्थिक विपन्न तथा कृषकहरूलाई प्रोत्साहित गरेको बताउनुभयो । तानसेन नगरपालिका पूर्व नगर प्रमुख अशोक कुमार शाहीले नगरको आर्थिक समृद्ध, रोजगारको क्षेत्रमा यो कार्यक्रम नयाँ मोडल भएको उल्लेख गर्नुभयो । उहाँले देशभरका पालिकाले तानसेनको मोडल कार्यान्वयन गरेको उल्लेख गर्नुभयो । पुर्व नगर उप प्रमुख लक्ष्मी पाठक, नगर प्रवक्ता यादव सिंह कार्की, पत्रकार महांसघ अध्यक्ष रेखीराम रानाले कार्यक्रम सफलताको शुभकामना दिनुभयो । उहाँहरूले गैरसकारी संस्था नगर सरकारको सहयोग बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम हेफर प्रोजेक्टका वरिष्ठ कार्यक्रम अधिकृत विष्णु पाण्डले स्वागत गर्नुभएको थियो । ग्रामीण आर्थिक संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्की अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update