Erani Mahal
दुई वर्षकाे अबधिमा पाल्पामा १ हजार ४ सय बढी किशाेरी गर्भवती !
Pregnant
तानसेन - पाल्पामा बीस वर्ष नपुगी गर्भवती हुने किशोरीहरूको सङ्ख्या बढेको पाइएको छ । आफूखुसी बिवाह गर्ने क्रम बढेपछि ग्रामीण क्षेत्रका किशोरीहरू बीस वर्ष नपुग्दैँ गर्भवती हुने गरेका छन् । बढ्दो आधुनिक जीवनशैली, मोबाइलको प्रयोग तथा जनचेतनाको कमीले २० वर्ष नपुग्दै किशोरीहरूको बालबिवाह हुने गरेको छ । बालबिवाहले किशोरीहरू कम उमेरमै गर्भवती हुने गरेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पा जिल्लामा आव २०७७/०७८ मा ९५ जना २० वर्ष नपुगेका किशोरीले गर्भपतन गरेका थिए । सोही अबधिमा २० वर्षभन्दा कम उमेर भएका ७२४ किशोरीले स्वास्थ्य संस्थामा गर्भवती जाँच गराएका स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्कमा उल्लेख छ । यस्तै गत आव २०७८/०७९ मा एक सय २३ जना किशोरीले गर्भपतन गराएका थिए भने ६९९ जना किशोरीले पहिलो गर्भजाँच गराएको स्वास्थ्य कार्यालय पाल्पाका तथ्याङ्क अधिकृत विपिनकुमार पन्जियारले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो केही वर्षयता हरेक वर्ष गर्भवती हुने कुल महिलाको १० देखि २० प्रतिशत गर्भवती किशोरी रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कम उमेरमा बिवाह भएका कारण किशोर अवस्थामै गर्भवती हुने र बच्चा जन्माउने किशोरीको सङ्ख्या कम नभएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । ‘अहिले पनि ग्रामीण क्षेत्रमा १५/१६ वर्षमै बिवाह गर्ने प्रचलन छ उहाँले भन्नुभयो सानै उमेरमा बिवाह भएपछि किशोरावस्थामै गर्भवती हुनु स्वभाविक हो ।’ किशोरीहरूमा बीस वर्ष नपुगी बिवाह गर्नु कानुन सम्मत नहुने जानकारी नहुँदा र कम उमेरमै गर्भवती हुँदा आमा तथा बच्चाको स्वास्थ्यमा समेत असर गर्ने जानकारी नहुँदा पनि कम उमेरमै बिवाह गर्ने क्रम बढेको हो । कतिपय गाउँमा भने सामाजिक परम्पराका कारण कम उमेरमै किशोरीहरूको बिवाह हुने गरेको दिव्यज्योति माविका निमिक्त प्रधानाध्यापक लोकेन्द्र थापाले बताउनुभयो । बीस वर्ष उमेर नपुगी बिवाह गर्न पाइदैन भन्ने जानकारी हुँदा पनि कतिपय अभिभावकले नै कम उमेरमा बिवाह गर्न दिबाव दिने गरेको उहाँको भनाई छ । पछिल्लो समय आफूखुसी बिवाह गर्ने क्रम बढेकाले पनि कम उमेरमै गर्भवती हुनेहरू बढेका हुन् । सानै उमेरमा मोबाइलको प्रयोग, सामाजिक सञ्जालको प्रयोग आदिका कारणले किशोर अवस्थामै आफूखुसी बिवाह गर्ने क्रम बढेको अभिभावकको भनाई छ । मोबाइलको प्रयोगबाट चिन्जान हुने र प्रेममा परेर उमेर नहुँदै आफूखुसी बिवाह गर्ने गरेको नेपाल परिवार नियोजन सङ्घ पाल्पा शाखाका प्रवन्धक सोबाकान्त न्यौपानेले भन्नुभयो । ‘अभिभावक र किशोर–किशोरीलाई उमेर नपुगी बिवाह गर्न हुँदैन भन्ने जानकारी छ उहाँले भन्नुभयो प्रेमको नाममा कम उमेरमै बिवाहका लागि भागेपछि परिवार समेत अप्ठेरोमा परेका छन् ।’
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update