Erani Mahal
तानसेन नगरपालिकाले अवैध संरचनालाई वैधानिकता दिदैँ, रामपुरले भत्काउँदै !
Tansen-nagarpalika-1
पाल्पा – पाल्पामा दुई वटा नगरपालिका छन् । ती हुन् तानसेन र रामपुर । तानसेन नेपालकाे पुरानाे तीन नगरपालिकामध्ये एक हाे । रामपुर भने सात वर्षअघि मात्रै नगरपालिका बनेकाे हाे । काठमाडाैँमा स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनाव जितेपछि अहिले अवैध संरचनालाई भत्काउने अभियान नै थालेकाे पाइएकाे छ । त्यसले काठमाडाैँका नागरिकलाई मात्र हाेइन देशभरका नागरिकमा नयाँ सन्देश सन्चार गरेकाे छ । काठमाडाैँबाट सुरू भएकाे अवैध संरचनालाई भत्काउने बहस पाल्पामा पनि सुरू भएकाे छ । देशभरका कयाैँ स्थानमा कानुन विपरीत बनेका संरचनालाई भत्काउने समाचारहरू सार्वजनिक भइरहेका छन् । ठीक यही बेला पाल्पाकाे जिल्ला सदरमुकाम तानसेनमा बनेका कानुन विपरीतका संरचनालाई नगरपालिकाले वैधानिकता प्रदान गर्ने तयारी गरेकाे छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिले बनाएका कानुन विपरीतका संरचनालाई वैधानिक दिन नगरपालिकाले अध्ययन् थालेको छ । ‘पुरानो नगरका रुपमा रहेको तानसेनभित्र बनेका सबै खालका संरचनालाई अन्तिम पटकका लागि भनेर वैध बनाउने तयारीमा छौँ नगरप्रमुख सन्तोषलाल श्रेष्ठले भन्नुभयो ।’ तानसेनमा एक हजार सात सय बढी अवैध संरचना रहेको र त्यसलाई भत्काउँदा क्षति हुने भएकाले अन्तिम पटकका लागि वैधानिकता दिने गरी तयारी गरेका उहाँले जानकारी दिनुभयो । तानसेनभित्रका सार्वजनिक जग्गा मिचेर बनाएका जग्गा, नक्सा पास नगरी बनाएका संरचना, अरुको जग्गा मिचेर बनाएका संरचनालाई नगरपालिकाले वैधानिकता दिन लागेको हो । ती संरचनालाई भत्काउँदा थप क्षति हुने भन्दै उहाँले त्यसलाई अन्तिम पटकका लागि भनेर वैधानिकता दिनुपर्ने दावी गर्नुभयो । तानसेनमा नक्सा नबनाई घर–टहरा, पेटी तथा अन्य संरचना बनाउने र बनाइसकेपछि मात्र नगरपालिकामा नक्सा पासका लागि आउने गरेको नगरपालिकाका जनप्रतिनिधिको गुनासो छ । तानसेनका ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा नक्सा पास नगरी संरचना बनाउने प्रचलन रहेको छ । केही व्यक्तिले घर बनाउनका लागि नगरपालिकाले तोकेको मापदण्ड अनुसार जग्गा नभएपनि घर तथा संरचना बनाइसकेको तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो । केही व्यक्तिले सार्वजनिक जग्गा समेत मिचेको नगरपालिकाको ठहर छ । रामपुरमा अवैध संरचना हटाउने उता रामपुर नगरपालिकाले भने नगरभित्रका अबैध संरचना तत्काल हटाउने जनाएको छ । नगर कार्यपालिकाको बैठकले रामपुर नगरपालिकाभित्र बनेका अवैध घर–टहरा नियमानुसार हटाउने निर्णय गरेको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले अवैध संरचना हटाउन पहिले व्यक्ति आफैँलाई समय दिने र अटेर गरे नगरपालिकाले हटाउने उल्लेख गर्नुभयो । नगरभित्र कति अवैध संरचना छ र त्यसलाई कुन प्रक्रियाबाट हटाउने भन्ने बारे अध्ययन् भइरहेको नगरप्रमुख थापाले बताउनुभयो । रामपुरलाई व्यवस्थित र सुन्दर शहर बनाउनका लागि पनि नियमविपरीतका संरचना अहिले नै हटाउनुपर्ने नभएर भविष्यमा त्यसले ठूलो समस्या निम्त्याउने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update