Erani Mahal
सिद्धार्थ राजमार्ग : घरटहरा हटाएका क्षेत्रमा सडक कहिले बनाउने ?
308379427_555023389710053_1196342123104207911_n
पाल्पा – डेढ वर्षअघि सिद्धार्थ राजमार्गकाे केही स्थानमा घरटहरा हटाइएकाे थियाे । सडक बिस्तार गर्ने भनेर घरटहरा हटाइएकाे थियाे । तर त्यहाँ अहिलेसम्म सडक बन्न सकेकाे छैन । दुई वर्षअघि सडक छेउका घर तथा टहरा भत्काउन सुरु गरेपनि सडक बिस्तारको काम भने अझै सुरु भएकाे छैन । सडक डिभिजन कार्यालय पाल्पाले तीन वर्षअघिदेखि नै सडक बिस्तार गर्न भन्दै सडक छेउका घर तथा टहरा हटाउन सुरु गरेको थियो । कार्यालयले डेढ वर्षअघि बगनासकालीको आर्यभाङ्ज्याङ्देखि राइडाँडासम्मका घर तथा टहरा स्काभेटर र लोडर प्रयोग गरेर हटाएको थियो । तर उक्त सडकखण्डमा हालसम्म पनि सडक बिस्तारको काम सुरु हुन नसकेको स्थानीय बासिन्दाको गुनासो छ । सडक बिस्तारका लागि भनेर सडक कार्यालयले घर, भवन, टहरा भत्काएर गएको डेढ वर्ष बितेपनि सडक बिस्तार हालसम्म पनि हुन नसकेको स्थानीय बासिन्दाको गुनासो छ । यस क्षेत्रमा डेढ वर्षअघि वर्षात्को समय पारेर १५० बढी घरटहरामा सडक डिभिजन कार्यालयले डोजर लगाएर संरचना भत्काएको थियो । घर तथा टहरा भत्काउने बेलामा तत्काल सडक बिस्तार गर्ने भनेपनि हालसम्म सडकको काम सुरु हुन नसकेको बगानसकाली–१, घोरबन्दाका स्थानीय बासिन्दा खुमबहादुर गाहाले गुनासो गर्नुभयो । बाटो बिस्तार गर्न भनेर आफूहरूले पनि सडक कार्यालयलाई बनाएका संरचना हटाउन सहयोग गरेको उहाँले बताउनुभयो । ‘हाम्रो घर हटाएर बाटो बनाउँछौँ भनेका थिए उहाँले भन्नुभयो तर अहिलेसम्म बाटो बनाउने सुरसार छैन ।’ सडक डिभिजन कार्यालय पाल्पाले भने सिद्धार्थ राजमार्गमा घरटहरा हटाउने काम भएपनि सडक निर्माण कहिलेदेखि सुरु हुने भन्ने निश्चित हुन नसकेको जनाएको छ । घर–टहरा भत्काइएको क्षेत्रमा सडक बिस्तार गर्न बजेट नै नपरेकाले काम हुन नसकेको डिभिजन प्रमुख प्रदिपमणी निरौलाले बताउनुभयो । नेपाल सरकारको सिद्धार्थ राजमार्ग बिस्तार गर्ने योजना भएपनि बजेट तथा कार्यक्रमबारे अझै निर्णय हुन नसकेको उहाँको भनाई छ । सडक बिस्तारका लागि सिद्धार्थ राजमार्गको अन्य क्षेत्रका घर–टहरा भने हटाउनै बाँकी छ । सिद्धार्थ राजमार्गको बर्तुङ्देखि–चिडियाखोलासम्म र आर्यभाङ्ज्याङ्देखि राम्दीसम्म बनेका पक्की तथा कच्ची अवैध संरचना सडक कार्यालयले हटाउन सकेको छैन । यो वर्ष देशभर नै सडक छेउका अवैध संरचना भत्काउने योजना रहेको र दशैँतिहारपछि सडक छेउका संरचना हटाउने योजना रहेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सर्वसाधारण नागरिकलाइ उठीबास बनाएर सडक कार्यालयले अझैँ सडक बनाउने याेजना ल्याउन सकेकाे छैन ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update