Erani Mahal
निस्दीमा जनसहभागिताको रकम जम्मा गर्न उपभोक्तालाई सास्ती !
307829213_573069697980450_4629409254346950231_n
पाल्पा- निस्दी गाउँपालिका पाल्पामा भौतिक पूर्वधार अन्तर्गतको योजनामा स्थानीय सहभागिता बापत कुल योजनाको १० प्रतिशत रकम जम्मा गर्नु परेकोमा उपभोक्तालाई सास्ती भएको छ । गाउँपालिकाले विनियोजन गरेको भौतिक पूर्वाधार अन्तर्गतको सम्पूर्ण योजनामा उपभोक्ताले १० प्रतिशत रकम गाउँपालिकाको खातामा जम्मा गर्नु परेकोले उपभोक्तालाई सास्ती भएको स्थानीय उपभोक्ता राम बहादुर पाटाले बताउनुभयो । उहाँले उक्त कुरा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा बताउनुभएको हो । योजनाको कुल बजेटको १० प्रतिशत रकम जम्मा गर्न स्थानीयलाई सास्ती रहेको बताउदै त्यस्ता प्रावधान हटाउन गाउँपालिकासंग माग गर्नुभएको थियो । गाउँपालिकाले सन्चालन गरेका हरेक कार्यक्रममा बजेटको १० प्रतिशत रकम जम्मा गर्न नपर्ने तर स्थानीय उपभोक्ताले भने राख्नुपर्ने कारण बारे तिर्सना खन्गाहा जिज्ञासा राख्नुभएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सामुदायिक विद्धुतीकरण बिस्तारमा ढिलाइ,योजनाको प्राविधिक मूल्यांकनमा देखिएका समस्या,स्वास्थ्य,पर्यटन र सन्चार बारे १५ जनाले आफ्ना जिज्ञासा,सल्लाह र सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै हुदै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले स्थानीय उपभोक्ताले आफ्नो स्वामित्व र अपनत्वको महसुस गर्न कुल बजेटको १० प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान राखिएको बताउनुभयो । अध्यक्ष सारुले जनस्तरमा देखिएका गुनासा र समस्याहरुलाई कम गर्न योजना बनाएर कार्यान्वयन गर्न कटिबद्ध रहेको बताउनुभयो । आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले जनगुनासो कम आउने वातावरण सिर्जना गर्न सम्बन्धित शाखा प्रमुखहरुलाई आग्रह गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत दयालले सेवाग्राहीहरुको सुझाव सल्लाह सधै सकारात्मक हुने बताउदै गाउँपालिकाको निती तथा कार्यक्रम अनुसार योजना तथा कार्यक्रम सन्चालन गरिएको बताउनुभयो । सहभागिताहरुले उठाएका प्रश्न,जिज्ञासा,सुझाव बारे विषयगत शाखा प्रमुखहरुले जवाफ दिएका थिए । निस्दीको बहुउद्देश्यीय सभा हल बसेनीमा सन्चालन भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकारद्वय नारायण न्यौपाने र दयाराज न्यौपानेले गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update