Erani Mahal
तानसेन दमकडाकाे कराेडाैँकाे जग्गा हडप्ने दाउ असफल !
tr
पाल्पा - केही व्यक्तिको मिलेमतोमा करोडौँ पर्ने जग्गा हत्याउने दाउ असफल भएको छ । करोडौँ रुपियाँ पर्ने जग्गा हत्याउने दाउले बनाइएको मुचुल्का र सिफारिस भिड्न नसकेपछि तानसेन–९, दमकडामा रहेको चार रोपनी पाँच आना जग्गा बचेको हो । तानसेन–९, का स्थानीय बासिन्दा चन्द्रे घर्तीको नाममा रहेको चार रोपनी पाँच आना जग्गा नक्कली कागजपत्र बनाएर नामसारी गर्ने तत्कालिन माथागढी गाउँपालिकाका केही जनप्रतिनिधिको दाउ असफल भएको हो । तानसेन–९, का वडा अध्यक्ष राजेशकुमार अर्यालले यसअघिका जनप्रतिनिधिले सिफारिस गरेको कागजपत्र नभिडेको भन्दै उक्त जग्गा राष्ट्रियकरण गर्न स्थानीय बासिन्दाको मागअनुसार निर्णय गरेर मालपोतमा पठाइएको बताउनुभयो । चन्द्रे घर्तीको नाममा तानसेन–९, दमकडामा दुई वटा कित्तामा चार रोपनी पाँच आना जग्गा छ । यद्यपी चन्द्रे २०४५ सालको भुकम्प गएको दिनदेखि बेपत्ता रहनुभएको छ । चन्द्रेको आमा मेखली घर्तीको २०६६ सालमै निधन भइसकेको र चन्द्रको नजिकको कोही पनि आफन्त नरहेको वडा अध्यक्ष अर्यालले बताउनुभयो । उक्त जग्गालाई लामो समयदेखि आँखा लगाइरहेका केही व्यक्तिको मिलेमतोमा हालको बजार भाउ अनुसार करिब अढाई करोड पर्ने जग्गा हकदारभन्दा बाहिरका व्यक्तिको नाममा लैजान प्रपन्च रचिएको थियो । त्यसका लागि माथागढी गाउँपालिकाका तत्कालिन अध्यक्ष सन्तोषकुमार थापा र वडा नं. २ का अध्यक्ष जनक रिजेल र तानसेन–९ का अध्यक्ष हरिसुमर रेग्मीले काजगपत्र नहेरी हचुवामा सिफारिस गरेको मालपोतका कर्मचारीको भनाई छ । करोडौँको जग्गा हात पार्न माथागढी–२, रुप्सेका सन्तवीर घर्तीले निज चन्द्रे र आमा मेखलीलाई लालनपालन गरेको कागजपत्र बनाएका थिए । सोही जग्गासन्तवीरको नाममा पास गर्न माथागढी गाउँपालिका र वडा नं. २ ले २०७८ फागुन २० गते सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा तानसेन ९ वडा कार्यालयले समेत मालपोत कार्यालय पाल्पामा सिफारिस गरेको थियो । स्थानीय तह र वडा कार्यालयको सिफारिस अनुसार जिल्ला मालपोत कार्यालयले गत २०७८ चैत ८ गते निवेदकको माग अनुसार ३५ दिनको सूचना जारी गरेको थियो । सूचना जारी गरेपश्चात पुनः तानसेन–९ को वडा कार्यालयबाट जग्गा सन्तवीरको नाममा नामसारी नगर्न भन्दै पत्र आएको मालपोत कार्यालय पाल्पाले जनाएको छ । तानसेन–९, को कार्यालयले आम भेला गरेर निवेदक सन्तवीरको मागअनुसार नगरी सो जग्गा राष्ट्रियकरण गर्न माग गरेको पत्र मालपोत र जिल्ला प्रशासन कार्यालयमा आइपुगेको जिल्ला मालपोत अधिकृत दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो । उक्त जग्गाको विषयमा के गर्ने भन्ने थप निर्णय भने हालसम्म नभएको मालपोत अधिकृत खनालले बताउनुभयो । करोडौँको जग्गा हात पार्नका लागि २०७७ चैत महिनादेखि नै प्रपन्च सुरु भएको थियो । स्थानीय बासिन्दाका अनुसार जग्गा हात पार्न केही व्यक्तिले सन्तवीरलाई लालनपालन गरेको कागजपत्र बनाउन उक्साएका थिए ।
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update