Erani Mahal
पाल्पामा नवौँ राष्ट्रिय परिवार योजना दिवस मनाइयाे
tt
पाल्पा – नवौँ राष्ट्रिय परिवार योजना दिवस एवं ६४ औँ नेपाल परिवार नियोजन स्थापना दिवस तानसेनमा मनाइएको छ । स्वास्थ्य कार्यालय पाल्पा र नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजनामा दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले सुखी परिवारका लागि सबै दम्पत्तिले परिवार योजना बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले कति परिवार बनाउँदा आफूले हेरचाह र सुबिधा दिन सकिन्छ भन्ने योजना बनाएमात्र सबैको परिवारले सुख पाउने उहाँले बताउनुभयो । अबका दिनमा परिवार नियोजन गर्नेभन्दा पनि परिवार योजना अनुसार सम्बद्ध पक्ष अघि बढ्नुपर्नेमा उहाँको जोड छ । कार्यक्रमा जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीले परिवार सबैका लागि आवश्यक हो भन्ने थाहा हुँदाहुँदै पनि कति संख्या आवश्यक हो भन्ने निक्र्यौल दम्पत्ति आफैँले गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुनै समय धेरै परिवार पनि सहज भयो अहिले आफूले लालनपालन गर्नसक्ने परिवार संख्या बनाउनुपर्छ भन्ने मान्यता स्थापित भएको उल्लेख गर्नुभयो । यस्तै स्वास्थ्य कार्यालय पाल्पाका प्रजनन् स्वास्थ्य कार्याक्रमका फोकल पर्सन टिकाराम अधिकारीले नेपाल सरकारको व्यवस्थित परिवार बनाउने रणनीति पूरा गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले पछिल्लो समय अधिकांश दम्पत्ति परिवारको योजना बनाएर अघि बढेको भएपनि ग्रामीण क्षेत्रका दम्पत्तिमा सचेतना कम भएको बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले व्यवस्थित परिवारका लागि बालविवाहलाई न्युनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बालबिवाहले बहुविवाह समेत बढाएकाले त्यसबाट अनाथ बालबालिकाको सङ्ख्या बढेको दावी गर्नुभयो । कार्यक्रमा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रवन्धक सोबाकान्त न्यौपानेले व्यवस्थित र सुखी परिवारका लागि संघले विगत लामो समयदेखि कार्यक्रम गरेको बताउँदै सुखी परिवारका लागि त्यस्ता कार्यक्रम प्रभावकारी बनेको उल्लेख गर्नुभयो । न्यौपानेले स्थानीय तहले परिवार योजना सम्बन्धी कार्यक्रमलाई महत्व नदिएकाले त्यस्ता कार्यक्रम गर्न सबैले घच्घच्याउनुपर्ने जोड दिनुभयो । कार्यक्रममा संघका सल्लाहकार चित्रवलीराम सुवालले व्यवस्थित परिवार बनाउन स्थानीय सरकार र गैरसरकारी निकाय समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम संघकी उपसभापति ज्योति राजभण्डारीको अध्यक्षता, स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेको स्वागत र कमल बस्यालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाजको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update