Erani Mahal
लुम्बिनीका अधिकांश सिटमा गठबन्धन सहमति नजिक, यस्तो छ अहिलेसम्मको अंक गणित
lumbini1632037703 (2)
बुटवल - आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सत्तारुढ दलहरु बीच प्रतिनिधि सभाका लागि लुम्बिनी प्रदेशमा सिट बाँडफाँट सहमति नजिक पुगेको छ । गठबन्धन दलहरु बीच भएको छलफल तथा सहमति अनुसार लुम्बिनीका ५ वटा क्षेत्र बाहेकमा करिब सहमति जुटेको हो ।   लुम्बिनीका २६ सिट मध्ये सहमति १२ सिट नेपाली काँग्रेस, ६ सिट नेकपा माओवादी केन्द्र, ३ सिट नेकपा समाजवादी तथा जसपा र जनमोर्चाले १–१ सिट पाउने करिब टुङ्गो लागेको छ भने बाँकी ३ सिटमा टुङ्गो लाग्न बाँकी देखिन्छ । सैबभन्दा बढी निर्वाचन क्षेत्र भएको रुपन्देहीमा ५ वटा क्षेत्र मध्ये ३ वटा क्षेत्रका लागि सहमति जुटेको छ भने बाँकी २ वटामा सहमति जुट्न सकेको छैन । रुपन्देही क्षेत्र नम्बर १ र २ मा सहमति जुट्न नसकेको हो । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, जसपा र एकीकृत समाजवादीको दाबी छ । यसैगरी क्षेत्र नम्बर २ मा पनि सहमति जुटेको छैन । यस क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीले दाबी गरेका छन् । बाँकी रहेका क्षेत्रहरु ३, ४ र ५ मा कांग्रेसलाई छाड्न अरु दल सहमत भएका छन् । नवलपरासी पश्चिममा पनि दलहरु मिल्न सकेका छैनन् । क्षेत्र नम्बर १ मा कांग्रेस, माओवादी र जसपाको दाबी छ भने २ कांग्रेसलाई छाड्न सत्तारुढ गठबन्धनका दलहरु सहमत देखिएका छन् । पाल्पा जिल्लामा समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डेको जिल्ला भएका कारण सहमति हुन केही गाह्रो देखिएको छ । पाल्पाका २ वटा क्षेत्र मध्ये काँग्रेस र समाजवादी एक–एक वटा लिने भने पनि दुबै दलका रोजाई एउटै क्षेत्र हुँदा सहमति हुन सकेको छैन । क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसले दाबी गरे पनि सोही क्षेत्रमा आफ्ना सम्धी पाण्डेलाई जसरी पनि टिकट मिलाउन समाजवादी अध्यक्ष नेपालले दबाब दिईरहेका छन् । क्षेत्र नम्बर १ छाड्नका लागि दुई वटै दल तयार भए पनि २ नम्बर क्षेत्र आफूले पाउनु पर्ने दलहरुको दाबी छ । गठबन्धन दलका एक नेताका अनुसार कपिलवस्तुको क्षेत्र नम्बर १ माओवादी केन्द्रले लिनेछ भने २ र ३ कांग्रेसको भागमा परेको छ । अर्घाखाँची कांग्रेसको भागमा तथा प्युठानमा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पाउने निश्चित प्राय भएको छ । गुल्मीको १ कांग्रेसले लिनेछ भने २ एकीकृत समावादीलाई छाड्न गठबन्धनका दलहरु सहमत भएका छन् । रुकुम पूर्व र रोल्पा माओवादी केन्द्रको भागमा परेको छ भने दाङको १ एकीकृत समाजवादी, २ माओवादी र ३ कांग्रेसको भागमा परेको छ । बाँकेको क्षेत्र नम्बर १ माओवादी, २ जसपा र ३ कांग्रेसले लिने छन् भने बर्दियाको १ कांग्रेस र २ माओवादीको भागमा पर्ने लगभग टुंगिएको छ । यद्यपी मुलुकभरको सिट संख्याका आधारमा गठबन्धन दलहरु बीच सहमति हुने भएका कारण हालसम्म भएको सिट बाँडफाँटमा अन्तिमसम्म केही तलमाथि हुन सक्ने सम्भावना पनि रहेको छ । माओबादी अध्यक्ष पुस्पकमल दाहालले सिट बाँडफाँटमा सञ्चार माध्यममा आएको जस्तो नभएको उल्लेख गर्ने गरेका छन् । १६५ सिटका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा दलहरुको आ-आफ्नै अडानका कारण काँग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदल असफल भएको छ । प्रतिनिधिकै कुरो नमिलेपछि प्रदेशसभा सदस्यको निर्वाचनका लागि सिट बाँडफाँट गर्ने एजेण्डामा हालसम्म प्रवेश गर्न सकेका छैनन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update