Erani Mahal
पाल्पाको वार्षिक समीक्षा कार्यक्रम : ‘स्थानीय तहले उपलब्धी देखाउन सकेनन्’
306681551_1244538286363674_6068412360087612397_n
पाल्पा – पाल्पाका सरकारी कार्यालयहरूको वार्षिक समीक्षा कार्यक्रम तानसेनमा सुरु भएको छ । जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा भएको समीक्षा कार्यक्रममा पाल्पाका दश वटै स्थानीय तहले पहिलो दिन आफ्नो प्रस्तुती राखेका थिए ।   जिल्लाको तानसेन, रामपुर नगरपालिका, निस्दी, रम्भा, पूर्वखोला, माथागढी, तिनाउ, रिब्दीकोट, रैनादेवी छहरा र बगनासकाली गाउँपालिकाले गत आव २०७८/०७९ मा सम्पन्न भएका कार्यक्रमको बारेमा जानकारी दिएका थिए । बुधबार भएकाे समीक्षा कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिहरूले गत आवमा पालिकाले गरेका गतिबिधिका बारेमा जानकारी दिएका थिए । यद्यपी पालिकाहरूले उपलब्धी भने देखाउन नसकेको सहभागीहरूले प्रश्न गरेका थिए । कार्यक्रम भयाे, याे गरियाे भन्दा पनि याे उपलब्धी भयाे भनेर कुनै पनि पालिकाले समीक्षामा प्रस्तुत गर्न नसकेकाे सहभागीहरूकाे भनाइ छ ।   कार्यक्रम कार्यक्रमका लागि मात्र भएको उपलब्धी देखाउन नसकेको, बजेट तथा कार्यक्रम पारदर्शी नभएको, टेन्डर तथा सूचना कमिसनका लागि कर्मचारीले बोक्दै हिडेको भन्दै राजनैतिक दल, पत्रकार, नागरिक समाजले स्थानीय तहलाई प्रश्न गरेका थिए ।   स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत जनप्रतिनिधिहरूले उपलब्धी जिसस पाल्पाले दिएको फर्मेटमा समावेश गर्न नसकेको भन्दै जवाफ दिएका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालको अध्यक्षता, समन्वय अधिकारी जनार्दन अधिकारीको स्वागत र समन्वय समितिका अधिकृत भावना पोखरेलको संचालनमा भएको थियो ।   कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री दलबहादुर राना, लुम्विनी प्रदेशका महिला तथा बालबालिका मन्त्री रमा घर्ती, सभासद्हरू नारायण आचार्य, तुलाराम घर्तीमगर वसन्त, तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलााल श्रेष्ठ, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रतिनिधि मथुरा ढकाल, राप्रपाका अध्यक्ष डुलबहादुर कँवर, राजमाे पाल्पाका अध्यक्ष विशाल दर्लामी, स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, पत्रकार, कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज लगायतकाे सहभागिता रहेकाे थियाे ।  समीक्षा कार्यक्रम बिहीबार पनि संचालन भइरहेको छ । बिहीबारकाे समीक्षामा जिल्लास्थित सरकारी कार्यालयहरूकाे प्रस्तुती रहेकाे छ ।
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update