Erani Mahal
प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवाबारे अन्तरक्रिया कार्यक्रम
IMG_1898
पाल्पा – प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवा पैरवीका लागि पाल्पाका नागरिक समाजसँग अन्तरक्रिया तथा वार्षिक समीक्षा कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको समन्वय र आइपास नेपालको सहयोग तथा समाजसेवा तथा वातावरण संरक्षण समूह, अर्घाखाँचीको आयाेजनामा कार्यक्रम भएको हो । कार्यक्रममा समूहका कार्यक्रम अधिकृत आदर्श अधिकारीले संस्थाले पाल्पाको तानसेन, पूर्वखोला र रम्भामा गरेका कामको बारेमा जानकारी दिनुभएको थियो । उहाँले महिलाको प्रजनन् अधिकार र सुरक्षित गर्भपतनको विषय आपसमा अन्तरसम्बन्धित रहेको बताउँदै अबैध रुपमा हुने गर्भपतन न्युनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पाल्पामा संस्थाले गरेका कामको बारेमा समेत जानकारी दिनुभएको थियो । कार्यक्रममा पाल्पा अस्पतालका निमिक्त मेडिकल सुपरीटेन्डेन्ट डा. रन्जिता झाले पाल्पामा कोहीकसैले पनि असुरक्षित गर्भपतन गर्नुपर्ने बाध्यता नरहेको बताउनुभयो । पाल्पाका सूचिकृत संस्थाहरूबाट नै अनिश्छुक गर्भलाई गर्भपतन गराउने सकिने उहाँको भनाई छ । यस्तै नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले अहिले पनि ग्रामीण क्षेत्रमा केही व्यक्तिको मिलेमतोमा वलात्कारका घटनाबाट रहेका गर्भ असुरक्षित रुपमा तुहाउने क्रम रहेको उल्लेख गर्नुभयो । उहाँले जनचेतनाको अभाव र सम्बन्धित व्यक्तिको आर्थिक सामाजिक धारणाका कारण अबैध गर्भपतन गर्ने क्रम रहेको बताउनुभयो । यस्तै स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जिल्लामा लुकीछिपी सूचिकृत नभएका संस्थामा असुरक्षित गर्भपतन गरेको हुनसक्ने भन्दै यस क्षेत्रमा काम गर्ने संस्थाहरुको पहलमा यस्ता कामलाई न्युनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । गिरीले असुरक्षित गर्भपतनका कारण महिलाको स्वास्थ्य जोखिममा पर्नसक्ने भन्दै गर्भपतनलाई महिलाको अधिकारका रुपमा बुझ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो । कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. गिरीको अध्यक्षता र समाजसेवा तथा वातावरण संरक्षण समूह, अर्घाखाँचीकी कार्यक्रम निर्देशक लक्ष्मी अधिकारीले सञ्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update