Erani Mahal
नेपाल टेलिकमको इ-सिम दसैंअघि आउने ! एउटै सेटमा २० वटासम्म सिम चल्ने !
esim
काठमाडौं - नेपाल टेलिकमले दसैंअघि नै आफ्ना ग्राहकहरुलाई इम्बेडेड सिम अर्थात् इ-सिम बिक्री सुरु गर्ने भएको छ। इ-सिम परीक्षण सफलता नजिक भएसँगै टेलिकमले दसैंअघि नै व्यवसायिक बिक्री सुरु गर्ने तयारीमा छ । ‘ठ्याक्कै यही दिनबाट इ-सिम बिक्री खोल्छौं भन्ने निर्णय अहिलेसम्म भएको छैन। कम्पनीले आवश्यक केही प्रक्रिया पूरा गरेर दसैंअघिबाट इ-सिमको व्यवसायिक बिक्री थाल्छ। आन्तरिक तयारी भइरहेको छ,’ स्रोतले भन्यो। टेलिकमका प्रवक्ता शोभन अधिकारीले कम्पनीले इ-सिम दुई/तीनवटा चरणमा परीक्षण पछि ग्राहकहरुलाई दिन तयार भएको जानकारी दिए। तर, अहिलेसम्म कहिलेबाट इ-सिम बिक्री थाल्ने भन्ने निर्णय नभइसकेको उहाँले बताउनुभयाे । 'निर्णय नभइसकेकाले यही दिन आउँछ भन्न सकिने अवस्था छैन। बिक्री सुरु गर्ने बारे कम्पनीले निर्णय गरेको छैन। इ-सिम बिक्री कसरी गर्ने, कहाँ कहाँ दिने, कुन कुन ठाउँका काउन्टरबाट दिनेलगायत सबै कुरा मिलाउनुपर्ने हुन्छ। त्यो मिलाएर सकेसम्म चाँडो हामी इ-सिम बिक्री सुरु गर्छौं,' अधिकारीले भन्नुभयाे । टेलिकमले इ-सिमको मूल्य पनि अझैसम्म तोकिसकेको छैन । जसका लागि आवश्यक छलफल भइरहेको कम्पनीले जनाएको छ। अहिले संचालनमा रहेका सिमकार्डलाई इ-सिममा माइग्रेसन कसरी गर्ने लगायतका विषयमा पनि टेलिकमले अन्तिम तयारी गरिरहेको छ । टेलिकमको नेटवर्क रहेका सबै स्थानहरुमा इ-सिम चल्ने कम्पनीले स्पष्ट पारेको छ। 'आखिर कम्युनिकेट गर्ने भनेको मोबाइल नेटवर्कसँगै हो। नजिकको टावरसँगै कनेक्ट भएपनि कम्युनिकेट गरेर चल्ने हो। भौतिक सिमकार्ड मात्रै नहुने हो,' अधिकारीले भने।के हो इ-सिम?, अहिलेको भन्दा के फरक अहिले हामीले प्रयोग गरिरहेको सिमकार्ड भौतिक हो। इ-सिमलाई इम्बेडेड सिम भनिन्छ। इ-सिम भर्चुअल हुन्छ त्यसको भौतिक रुप हुँदैन। डिजिटल सिम पनि भन्ने गरिएको यो प्रविधिको प्रयोग गरी भौतिक सिमकार्ड बिना नै दूरसञ्चार कम्पनीका ग्राहकहरुले फोन कल, डेटा, मेसेजको सुविधा उपभोग गर्न सक्छन्। जसका लागि इ-सिम सुविधा भएको फोन भने उपभोक्ताले बोक्नुपर्ने हुन्छ। 'सिमकार्ड हामीले मोबाइलमा हुने सिम स्लटमा घुसाउँछौं। त्यसले मोबाइल नेटवर्कसँग सञ्चार स्थापित गरेर सेवा चल्छ। इ-सिम प्रयोग गर्न भने मोबाइल डिभाइसले त्यसलाई सपोर्ट गर्नुपर्छ। त्यो फिचर मोबाइल हुनु आवश्यक छ। त्यस्ता मोबाइल डिभाइसले भौतिक सिमले जे जे काम गर्छ त्यो सेटमै उपलब्ध हुन्छ,' अधिकारीले भने, 'त्यो मोबाइल डिभाइसमा हामीले प्रयोगकर्ताहरुले विवरण (क्रिडेन्सियल्स) सहितको इ-सिम उपलब्ध गराउँछौं। अन्तिममा त्यो डिभाइसले हाम्रो नेटवर्कसँगै कम्युनिकेट गर्ने हो। भौतिक सिमकार्डमा जे छ त्यो नै अब सेटमा हुन्छ।' इ-सिम बिक्री सुरु भएपछि भौतिक सिमकार्ड जस्तो छाप्ने वा चिप बनाउनु नपर्दा टेलिकम कम्पनीहरुलाई खर्च कटौती हुन्छ भन्ने प्रश्नमा टेलिकमका प्रवक्ता अधिकारीले कति खर्च कटौती हुन्छ भन्ने अहिले नै भन्न नसकिने बताउनुभयाे । सिमकार्ड किन्दा एकपटक मात्रै खर्च लाग्ने (वान टाइम चार्ज) बताउँदै अधिकारीले निरन्तर यात्रा गर्नेहरुका लागि इ-सिम किफायती हुने जिकिर गर्नुभयाे । 'इ-सिमको खर्च पनि भौतिक सिमकार्ड जस्तै पर्ला। इ-सिमका लागि हामीले छुट्टै प्रविधि प्रयोग गर्नैपर्ने हुन्छ। भौतिक सिम जस्तो इ-सिम प्रयोग गर्दा टेलिकमलाई खासै खर्चमा फरक पर्छ जस्तो मलाई लाग्दैन,' अधिकारीले भने, 'अहिले ५० रुपैयाँमा हामीले सिमकार्ड बेचिरहेका छौं। इ-सिममा जाँदा पनि खर्च उस्तै उस्तै आउँछ हामीलाई। त्यति फरक पर्दैन मूल्यका हिसाबले। यसको फाइदा मूल्यभन्दा बढी छन्।' एउटै सेटमा २० वटासम्म नम्बर! अहिले चलनचल्तीमा रहेका फोनहरुमा धेरैमा तीनवटासम्म सिमकार्डको स्लट छन्। सामसङ, साओमीलगायतका एन्ड्रोइड स्मार्टफोनहरुमा दुईवटा सिमकार्डको स्लट छन्। एप्पलले उत्पादन गर्ने आइफोनदेखि आइप्याडसम्म भने एउटा मात्रै सिमकार्ड स्लट उपलब्ध छ । इ-सिम सपोर्ट गर्ने मोबाइलहरुले भने एउटादेखि २० वटासम्म सिमकार्ड प्रोफाइल मेन्टेन गर्न सक्ने देखिएको टेलिकमका प्रवक्ता अधिकारी बताउँछन्। यो भने सेटअनुसार फरक फरक हुने उनले बताउनुभयाे । इ-सिमको सबैभन्दा धेरै फाइदा आइफोन प्रयोगकर्ताहरुलाई हुने देखिएको छ। किनकि आइफोन प्रयोगकर्ताहरुले इ-सिम हुँदा एकभन्दा धेरै नेटवर्क उपयोग गर्न सक्छन्। अहिले आइफोन प्रयोगकर्ताहरुले एकभन्दा बढी नेटवर्क प्रयोग गर्न परे अर्को छुट्टै फोन प्रयोग गर्नुपर्ने बाध्यता छ। इ-सिम नेपालमा लञ्च भएसँगै आइफोन प्रयोगकर्ताहरु पनि लाभान्वित हुने अपेक्षा गरिएको छ। त्यसैगरी, इ-सिम प्रयोग गर्दा भौतिक सिमकार्ड जस्तो हराउने, क्षति पुग्ने (ड्यामेज हुँदैन) वा अन्य कुनै समस्या नआउने टेलिकमले जनाएको छ। इ-सिम प्रयोग गर्न भने सबैभन्दा महत्वपूर्ण भनेको त्यसलाई सपोर्ट गर्ने मोबाइल फोन हुनु अपरिहार्य हुन्छ। इ-सिमको फिचर भएका स्मार्टफोनमा मात्रै भर्चुअल सिम प्रयोग गर्न मिल्ने टेलिकम कम्पनीहरुले स्पष्ट पारेका छन्। 'कतिवटा मोबाइल सेटहरुले त १५/२० वटासम्म पनि सपोर्ट गर्ने इ-सिम तयार गरेको भन्ने सुनिएको छ। दुईवटा भन्दा पनि बढी अर्थात् मल्टिपल सिम प्रोफाइल उपभोक्ताहरुले राख्न सक्नुहुन्छ। के कतिवटा सिम प्रोफाइल हुन्छ भन्ने कुरा डिभाइसमा निर्भर हुन्छ,' अधिकारीले भने,'हामीले बुझ्दा धेरै वटा सेटमा यो सुविधा पाइने सुनिएको छ।' इ-सिममा धेरै सिम प्रोफाइल हुने भएपनि एकपटकमा एउटा मात्रै नेटवर्क चलाउन मिल्ने बताइएको छ। एकपटकमा एउटा मात्रै नेटवर्कबाट सेवा लिन सकिन्छ। कुन सेटले सपोर्ट गर्छन् इ-सिम? सामसङ, एप्पल, गुगल, हुवावे, मोटोरोला, ओप्पो, सोनी, अनरलगायतका कम्पनीहरुले उत्पादन गरेका फोनहरुमा इ-सिमको फिचर उपलब्ध छ । सामसङको ग्यालेक्सी फोल्ड, जी फोल्ड, जी फ्लिप, ग्यालेक्सी एस २०, ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ + फाइभजी, ग्यालेक्सी एस २२, ग्यालेक्सी एस २२+, ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी नोट २० अल्ट्रा फाइभजी, ग्यालेक्सी नोट २० सहितका स्मार्टफोनहरुमा इ-सिम फिचर रहेको कम्पनीले जनाएको छ। यस्तै, एप्पलको आइफोन ११, आइफोन एसइ (२०२०), आइफोन १२, आइफोन १३, आइफोन १४ का मोडलहरुमा इ-सिमको सुविधा रहेको कम्पनीले जनाएको छ। एप्पलले उत्पादन गर्ने आइप्याड प्रो (२०१८ पछिका), आइपड, आइपड एयरसहित एप्पलको वाच सिरिज ३, ४, ५, ६ र वाच एसइले इ-सिम सपोर्ट गर्छ। हुवावेको पी ४०, पी ४० प्रो र मेट ४० प्रोमा इ-सिम उपलब्ध रहेको कम्पनीले जनाएको छ। मोटोरोलाको आरएजेडआर २०१९ र आरएजेडआर फाइभजीमा इ-सिम उपलब्ध छ। त्यसैगरी, ओप्पोको फाइन्ड एक्स थ्री प्रो, रेनो फाइभ ए, रेनो सिक्स प्रो फाइभजी, फाइन्ड एक्स फाइभ, एक्स फाइभ प्रो र ए ५५ एस सेटले इ-सिम सपोर्ट गर्ने कम्पनीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update