Erani Mahal
रामपुर–५ रामघाटमा ज्येष्ठ नागरिक सभाहल निर्माण सुरु  !
Rampur Syangja
पाल्पा - धार्मिक तथा पर्यटकीय नगरी रामपुर नगरपालिका–५ स्थित रामघाटमा ज्येष्ठ नागरिक सभाहल निर्माण थालिएको छ । लक्ष्मीनारायण गुठी सञ्चालक समितिद्वारा यहाँ ज्येष्ठ नागरिकलाई लक्षित गरेर सभाहल बनाउन थालिएकोे हो । सङ्घीय सरकारको रु २५ लाख सहयोगमा निर्माण हुने भवन आगामी कात्तिक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माण अगाडि बढाइएको लक्ष्मीनारायण गुठी सञ्चालक समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले जानकारी दिनुभयो । नगरप्रमुख रमणबहादुर थापाले धर्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गरेको रामघाटमा ज्येष्ठ नागरिक सभाहल आवश्यक रहेको हुँदा निर्माणकार्य सकिएपश्चात ज्येष्ठ नागरिकलाई घरबाट रामघाटसम्म आवतजावतका निम्ति यातायातको व्यवस्थापन गरिदिने बताउनुभयो । भवन निर्माण सकिएपछि दैनिक भजनकीर्तन, प्रवचन गर्नलाई सहज हुनेछ । यहाँ बन्न लागेको ज्येष्ठ नागरिक सभाहल धार्मिक तथा विभिन्न कार्यक्रमका निम्ति प्रयोग गरिनेछ । करिब तीन सय मानिस अट्ने क्षमताको सभाहल बन्नेछ । कालीगण्डकीको तटमा अवस्थित रहेकाले नदी स्नान गर्ने, लक्ष्मीनारायण मन्दिरमा पूजाआजाजस्ता धार्मिक क्रियाकलाप हुने गरेको छ । यसै क्षेत्रमा ज्येष्ठ नागरिकका लागि मिलन केन्द्र निर्माण गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update