Erani Mahal
लुम्बिनी र गण्डकी  प्रदेशको सङ्गमस्थल राम्दीमा नयाँ पक्की पुल बन्ने
Kaligandaki_River,_Ramdi,_Syangja
पाल्पा – लुम्बिनी र गण्डकी प्रदेशको सङ्गमस्थल राम्दीमा नयाँ पक्की पुल बन्ने भएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा र स्याङ्जाको सीमासमेत रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको हो । वि.सं २०२८ मा भारतले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै जाँदा ठूलो क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाई नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो । हाल सञ्चालनमा रहेको ९३ मिटर लामो पुलभन्दा पाँच–सात मिटर तल अर्को पुल बनाउने गरी सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरिसकेको छ । ठेक्का प्रक्रिया अगाडि बढिसकेको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इञ्जीनियर नवराज बाँस्तोलाले जानकारी दिनुभयो । बोलपत्र आह्वान गरी २०७९ असार ३० गते हिम सगरमाथा कन्स्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता भएको हो । सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने उहाँले बताउनुभयो । कुल रु २७ करोड ७१ लाखको लागतमा निर्माण सक्ने गरी सम्झौता भएको पुल एक सय आठ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । पुलको दायाँबायाँ झण्डै डेढ मिटरको फुटपाथ रहने छ । उक्त पुलको ४० टनसम्मको भारवहन क्षमता रहने छ । सम्झौता भएको मितिले नौ महिनाभित्र अर्थात् आगामी चैत मसान्तसम्म डिजाइन स्वीकृत गरिसक्नुपर्ने छ । निर्माणस्थलको माटो परीक्षण गरिसकिएको छ भने चैत मसान्तभित्र नै निजी जग्गामा बनेका घर–टहरा खाली गरी क्षतिपूर्ति दिइने आयोजनाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update