Erani Mahal
पाल्पाका सहकारी संस्थामा चाेरीका घटना बढे
sahakari
पाल्पा – पाल्पामा पछिल्लो समय सहकारी संस्थाहरूमा चोरी हुने क्रम बढेको छ । जिल्लाका विभिन्न स्थानमा सञ्चालित सहकारी संस्थाको सेफ, गेट, ढोका, दराज फोडेर नगद तथा जिन्सी सामग्री चोरी हुने क्रम बढेको हो । सहकारी संस्थामा चोरी तथा अन्य घटना रोक्नका लागि जडान गरिएको सिसी क्यामेरा भएको अवस्थामा समेत चोरी भएको छ । तर हालसम्म एक जना पनि चार पक्राउ परेको छैन । चोरी भएका अधिकांश सहकारी संस्थामा नगद चोरी भएको निवेदन आउने गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ‘चोरी भयो भनेर सहकारी संस्थाबाट निवेदन आउने क्रम बढेको छ जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले भन्नुभयो अधिकांश सहकारीले नगद चोरी भएको निवेदन लिएर आउनुभएको छ ।’ सहकारी संस्थामा नगद सुरक्षित राख्नका लागि प्रयोग गरिएका सेफ समेत फोडेर चोरीका घटना भएका छन् । पाल्पाको बगनासकालीस्थित बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थामा गत २०७९ जेठ ३० गते पाँच लाख २८ हजार चोरी भएको थियो । उक्त सहकारी संस्थामा सेफ, गेट, ढोका नै फोडेर चोरी भएको प्रहरीले जनाएको छ । यस्तै गत भदौ ११ गते रिब्दीकोटस्थित भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयबाट च्यानल गेट फोडेर २६ हजार ८२ रुपियाँ चोरी भएको प्रहरीले जनाएको छ । यस्तै रम्भा गाउँपालिकास्थित लालीगुराँस बचत तथा ऋण सहकारी संस्थामा भदौ १६ गते राति सिसी क्यामेरा बिग्रिएको मौका छोपेर चोरी भएको पाइएको प्रहरीले जनाएको छ । ग्राहकका लागि निकालिएको रकम ग्राहक नआएपछि सहकारी संस्थाको दराजमा राखिएको दुई लाख ८६ हजार रुपियाँ रकम चोरी भएको सहकारी संस्थाका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । प्रहरीले भने सहकारी संस्थामा भएका चोरी घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । सहकारीमा चोरी हुने क्रम बढेको छ प्रनाउ थापाले भन्नुभयो चोरी भएका सहकारीको असुरक्षित रुपमा रकम राखेको देखिन्छ । सहकारी संस्थाको सुरक्षामा सञ्चालक तथा कर्मचारीहरूले अपनाएका सुरक्षामा गम्भीर कमीकमजोरी भएकाले घटना भएको थापाले बताउनुभयो । सहकारी संस्थामा असुरक्षित रुपमा रकम राखेको बेलामा मात्र हुने चोरीका घटना हुनुले सहकारी संस्थाका कर्मचारी र सम्बन्धितमाथि नै शंका गर्नुपर्ने अवस्था रहेको प्रहरीको भनाई छ । सहकारीमा रहेका कर्मचारी र सञ्चालकबाट भएको कमीकमजोरीका कारण भएको घटनामा अनुसन्धान गर्न समेत अप्ठेरो भएको पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताउनुभयो । करोडौँको कारोबार गरेका सहकारी संस्थाले सुरक्षाका लागि आवश्यक तयारी र उपाय अपनाउन नसकेको अवस्थामा चोरी भएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update