Erani Mahal
हुमिनको लालिगुराँस सहकारीमा चोरी, चोर अझै पत्ता लागेन !
1556160608.chori_photo-2
पाल्पा – जिल्लाको रम्भा गाउँपालिका ४ हुमिनमा रहेको लालिगुरास बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । गत १५ गते राति २ लाख ८६ हजार बराबरको रकम रहस्यमय रुपमै चोरी भएको आज सम्म चोर पत्ता लाग्न सकेको छैन । कर्मचारीलाई नै जिम्मा दिने गरिएको नगद लगायतको कारोवारमा त्यसदिन भुक्तानी लिन आउनुपर्ने सेयर सदस्य नआएका कारण कार्यालयमा नगद राखिएको अवस्थामा नगद चोरी भएको सहकारीका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सहकारीको भल्टको व्यवस्था नभएको तथा सिसि क्यामेरा समेत विग्रिएको अवस्थामा चोरी भएको बताउनुभयो । उहाँले भल्ट व्यवस्थापन र क्यामेराको मर्मत संभारमा संचालक समिति, व्यवस्थापन र कर्मचारीको ध्यान पुग्न नसकेको त्यसमा कमजोरी भएको बताउनुभयो । तल्लो अन्डरग्राउन्ड हलको सानो ढोकाबाट चोर छिरेर कागजपत्र लथालिंग बनाएर नगद चोरेको थियो । सहकारीका प्रमुख कार्यकारी अधिकृतको स्टिल दराजमा राखिएको रकम चोरी भएको हो । सहकारीले रम्भाको हुमिनमा रहेको सहकारीको माथागढिको देउगीर र खहरे तथा रम्भाको पिपलडाडामा सम्पर्क कार्यालय रहेको छ । सहकारीमा करिब ३ हजार ५ सय बढी शेयर सदस्य रहेका छन् । सुरक्षात्मक उपायमा लापरवाही पाल्पामा सहकारी संस्था चोरी भएको यो पहिलो घटना भने होइन यस अघि पनि बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थामा चोरी भएको थियो । अहिले यस सहकारीमा समेत सुरक्षात्मक उपायमा सहकारीको व्यवस्थापन, संचालक समिति र कर्मचारी उदासिन बनेको पाइएको छ । सहकारीले नगद राख्नको लागि भल्ट र चौविसै घण्टा चल्ने सिसी टिभी लगायतको सुरक्षात्मक उपाय अपनाउनुपर्नेमा कर्मचारी र संचालकको त्यसमा लापरवाही देखिएको छ । चोरीको घटना रहस्यमय भएकाले त्यसको निष्पक्ष छानविन गरी दोषीलाई कानूनी कारवाहीमा ल्याउन सेयर सदस्यहरुले माग गरेका छन् । सहकारी चोरीको विषयमा प्रहरीमा निवेदन आएको तर त्यसको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता विरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update