Erani Mahal
पाल्पामा गानोडोर्मा रातो च्याउको उत्पादन र बिक्री सुरू
chau_palpa
खेमराज पाण्डे पाल्पा- जिल्लामा गानोडोर्मा रातो च्याउको उत्पादन र बिक्री सुरू भएकाे छ । भैरब च्याउ उद्योग प्रालि तानसेन–८ जरेपिपलले रातो च्याउको उत्पादन गरी बिक्री वितरण सुरू गरेको हाे । गानोडोर्मा (रातो) च्याउ एक लोकप्रिय औषधीय गुण भएको बहुउपयोगी च्याउको रुपमा रहेको र यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले यसप्रति उपभोक्ताहरुको आकर्षण बढेको प्रालिका अध्यक्ष केशव कार्कीले बताउनुभयो । यो च्याउलाई उद्योग मार्फत आधुनिक ल्यावमा उत्पादन गरी विक्री वितरणमा ल्याएको कार्कीले बताउनुभयो । यो च्याउ नेपालको जंगलमा पनि पाईन्छ । यसको आकार पंखा जस्तै फैलिएको हुन्छ । यो च्याउ अरू च्याउ जस्तो नरम र मीठो नभएपछि स्वास्थ्यका हिसावले निकै उपयोगी मानिएको छ । यो काठ जस्तो साह्रो हुन्छ र स्वाद पनि तीतो हुन्छ । त्यसैले यो च्याउ अन्य च्याउ जस्तै तरकारी बनाएर खान सकिन्न । सुकाएको रातो च्याउको टुक्राहरू पानीमा उमालेर रस चियाको रुपमा पिउने गरिन्छ र यसको सेवन स्वास्थ्यका लागि निकै लाभदायक हुने उद्यमी रितेश बिष्टले बताउनुभयो । यो च्याउमा पोलीस चाराइडर, ट्रिटरपेनोइड, अर्गानिक जर्मनियम, एमिनो एसिड्स जस्ता औषधीय तत्व र प्रोटिन भिटामिन्स्, मिनरल, माइक्रोनट्रियन्टस् इत्यादि पौष्टीक तत्वहरू पनि पाइने भएकोले पनि बहुउपयोगी रहेको उहाँले बताउनुभयो । यो च्याउको सेवन गरेका उपभोक्ताहरुले समेत राम्रो प्रभाव रहेको बताएका छन् । यो च्याउ क्यान्सर र एचआईभी एड्स रोगीका लागि अति उत्तम रहेको भैरव च्याउ उद्योगका ल्याव प्रमुख दिपेश अर्यालले बताउनुभयो । रातो च्याउको बजार मुल्य १५ हजार हाराहारी रहेको छ । भैरव च्याउ उद्योगले यो च्याउ मार्फत बन्ने बिभिन्न उत्पादन बजारमा ल्याउने तयारी गरेको उद्योगका अध्यक्ष कार्कीले बताउनुभयो । यो उद्योगले विगत पाँच बर्षअघिदेखि सिताके च्याउ पनि व्यावसायिक रुपमा उत्पादन गर्दै आएको छ । यहाँ उत्पादित च्याउ स्थानीय बजारमा बिक्री वितरण हुँदै आएको र उपभोक्ताको माग पनि बढ्दै गएको छ । रातो च्याउको बिक्री वितरणका लागि उद्योगले पाल्पा सहित विभिन्न जिल्लाहरुमा व्यवस्था मिलाइरहेको छ । हालै यस उद्योगबाट उत्पादित च्याउ काठमाडौं बालाजुस्थित गुराँस खाद्य उद्योग प्रालिले पनि विक्री वितरण सुरु गरेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update