Erani Mahal
डेङ्गु, स्क्रबटाइफस र कालाजार सम्बन्धी अभिमुखीकरण
ress
पाल्पा – स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा डेँगु, स्क्रबटाइफस तथा कालाजार रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम तानसेनमा सन्पन्न भएको छ । पाल्पाका सरोकारवाला पक्षलाई राखेर कीटजन्य रोग डेँगु, स्क्रबटाइफस र कालाजार सम्बन्धी अभिमुखीकरणा गरिएकाे हाे । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले पाल्पा जिल्लामा केही दिनयता डेँगुबाट संक्रमण भएका बिरामीको संख्या बढेकाले सबै जना सचेत रहनुपर्नेमा जोड दिनुभयो । उहाँले डेँगु लामखुट्टेबाट सर्ने भएकाले त्यसबाट बच्न पानी जम्ने स्थानलाई तत्काल पुर्ने, लामा बाउला भएका कपडा लगाउन सुझाव दिनुभयाे । पाल्पा जिल्लामा पछिल्लो सात महिनाको अबधिमा ४५ जनामा डेँगुको संक्रमण पुष्टि भएको जानकारी दिनुहुँदै उहाँले भदौँ, असोज र कात्तिक महिनामा डेँगु संक्रमण अझैँ बढ्न सक्ने बताउनुभयो । पछिल्लो महिनामा डेँगुको संक्रमण दोब्बरले बढेको अवस्था रहेको कार्यालय प्रमुख गिरीले बताउनुभयो । डेँगुको संक्रमण गर्ने लामखुट्टे दिउँशोको समयमा मात्र सक्रिय हुने भएकाले सर्वसाधारण दिउँशाेमा टाेक्ने लामखुट्टेबाट सचेत रहनुपर्नेमा जोड थियो । डेँगुको संक्रमण भएका व्यक्तिमा उच्च ज्वरो आउने, जीउ दुख्ने, वान्ता हुने, पेट दुख्नेलगायतका समस्या देखिन सक्छ । यस्तै पाल्पा जिल्लामा गत वर्ष स्क्रबटाइफसका ८ जना बिरामी भेटिएकाले जंगली किर्नाको टोकाइबाट साबधान रहनुपर्नेमा उहाँको भनाई छ । स्क्रबटाइफसबाट बच्नका लागि जंगलमा जाँदा लामा बाउला भएका कपडा लगाउने, घर वरिपरी घाँस बढ्न नदिने, मुसा नियन्त्रणका लागि उपयुक्त विधि अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाई छ । अभिमुखीकरण कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले डेँगु, स्क्रबटाइफसजस्ता रोगबाट बच्न नगरपालिकाले विशेष साबधानी अपनाउने बताउनुभयो । उहाँले मानिसलाई जनचेतना अभिबृद्धि गर्न र यसबाट बच्न सबै जनप्रतिनिधिलाई परिचालन गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना, नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति बुद्धिप्रसाद शर्मालगायतले बोल्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update