Erani Mahal
पाल्पा अस्पतालकाे सेवा चिकित्सक अभावले प्रभावित
upacha palpa aspatal (1)
पाल्पा – तानसेनस्थित पाल्पा अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाग्रहीले सास्ती बेहोर्नु परेको छ । दुई वर्षअघि ५० शैय्याको अस्पताल सञ्चालनका लागि लुम्विनी प्रदेश सरकारबाट अस्थायी स्वीकृति पाएपनि दरबन्दी अनुसारको चिकित्सक र स्वास्थ्यमर्की नहुँदा सेवाग्रहीले सास्ती बेहोर्नु परेको हो । ५० शैय्याको अस्पताल स्वीकृति पाएपछि अस्पतालमा नौँ जना विशेषज्ञ चिकित्सक र आठ जना एमबिबिएस डाक्टरको दरबन्दी छ । तर अस्पतालमा हाल एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । एमबिबिएस डाक्टर आठ जना हुनुपर्नेमा जम्मा तीन जना मात्रै कार्यरत छन् । यसले सेवा लिन आएका बिरामीलाई सेवा दिन समस्या परेको छ । दरबन्दी अनुसारको चिकित्सक र कर्मचारी नहुँदा तोकिएको सेवा प्रवाह गर्न समस्या भइरहेको अस्पतालका कर्मचारी बताउँछन् । अस्पतालमा स्वास्थ्यकर्मी र विशेषज्ञ सेवा दिने चिकित्सक नहुँदा सेवाप्रवाहलाई सहज बनाउन समस्या भइरहेको अस्पतालकी निमिक्त मेडिकल सुपरीटेण्डेन्ट रन्जिता महतोले बताउनुभयो । ‘दरबन्दी अनुसार कर्मचारी नहुँदा ओपिडी सेवा बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्नुपर्ने बाध्यता छ उहाँले भन्नुभयो तीन बजेसम्म सञ्चालन गर्नुपर्ने ओपीडि बिरामी जाँच गर्दै अध्याँरो हुन्छ ।’ स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई समयमै उपचार पाउन र घर फर्किन समस्या भएको बिरामीको गुनासो छ । अस्पतालमा डाक्टर नभएको भनेर घण्टौँ कुरेर सेवा लिनुपर्ने बाध्यता रहेको रैनादेवी छहरा–५, मुझुङ्का नरबहादुर बुचाले बताउनुभयो । उपचारका लागि बिहान ११ बजे आएपनि आफूले बेलुकी ६ बजे मात्र सेवा पाएको उहाँले गुनासो गर्नुभयो । अस्पतालमा स्वास्थ्य वीमा गरेका बिरामीको चाप बढेपछि भएका जनशक्तिले सेवा दिन समस्या भएको छ । ‘पहिले एक÷डेढ समय बिरामी जाँच गर्दा पनि उही कर्मचारी र अहिले पाँच सय बिरामी जाँच गर्दा पनि उही कर्मचारी अस्पतालका डाक्टर विवेक भण्डारीले भन्नुभयो ।’ अस्पतालले हाल आकस्मिक उपचार गरिहेका बिरामीका लागि फार्मेसी, एक्सरे र ल्याब सेवा चौबिसैँ घण्टा सञ्चालन गरेको छ । अस्पतालले सेवा थप गर्दै लगेपछि आकस्मिक कक्षमा दिनहुँ बिरामीको सङ्ख्या समेत बढेको छ । हाल अस्पतालले ओपीडि, आकस्मिक, अन्तरङ्ग, प्रयोगशाला, नेत्र सम्बन्धी उपचार, दन्त, फार्मेसी, आमा सुरक्षा, परिवार नियोजन, कोभिड जाँच, पोष्टमार्टमलगायतका सेवा दिइरहेको छ । अस्पतालको सेवा सुधार गर्न निरन्तर लागिपरेपनि कर्मचारी र स्वास्थ्यकर्मी पर्याप्त नहुँदा सेवाका कठिनाइ भइरहेको अस्पतालका स्वास्थ्यकर्मीको भनाई छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update