Erani Mahal
तानसेन सरकारको सय दिनको १५ काम यस्तो छ !
029
पाल्पा– तानसेन नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । गत वैशाख ३०, गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी जनप्रतिनिधिले १ सय दिनको उपलव्धी सार्वजनिक गरेका हुन् । तानसेनको जनप्रतिनिधिले निरन्तर नगरको विकास र नगरवासीको हकहीत र सुविधाहरुका बारेमा चिन्तनशील भएको र सोहीअनुरुप कार्य गरेको नगरप्रमुख शन्ताेष श्रेष्ठ र उपप्रमुख प्रतिक्षा सिंजालीले जनाएका छन् । सयौं दिनसम्ममा भएका केहि प्रमुख प्रगतिहरुको संक्षिप्त सार संक्षेप यस्तो रहेको छ । १) यस अवधिमा तानसेन नगरपालिकाको १ नगरसभा र ९ वटा नगरकार्यपालिकाको बैठक सम्पन्न भएको छ । २) स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिमका नगरपालिकाहरुमा रहने गरी निर्माण हुनुपर्ने आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, विपद व्यवस्थापन, विद्यायन सार्वजनिक सेवा तथा क्षमता विकास र लेखा समितिहरु गठन गरि सो समितिको संयोजक वडा अध्यक्षहरुलाई नै दिइएको छ, जसले गर्दा नगरपालिकाको कार्य सञ्चालनमा समितिहरुको सक्रियतामा वृद्धि हुनुका साथै खर्चमा पनि मितव्ययिता आएको छ । वडा अध्यक्ष नै समितिको संयोजक हुँदा अतिरिक्त पारिश्रमिक दिनु नपर्ने हुँदा प्रशासनिक खर्चमा बचत भएको महसुस गरिएको छ । ३) यस अवधिमा नगरपालिकाको कार्य सम्पादन गर्नका लागि विभिन्न ऐन, विनियम र कार्यविधिमा उल्लेख भए अनुसार सल्लाहकार समिति, न्यायिक समिति, नगर शिक्षा समिति लगायत ४१ वटा समिति तथा उपसमितिहरु गठन गरि कार्यसम्पादन अगाडी बढाइएको छ । ४) २०७९ असार ५ गते तानसेन नगरपालिकाको एघारौं नगरसभाले आ.व.०७९÷०८० को नीति तथा कार्यक्रम र असार १० गते बजेट पेश गरी रु १,३९,१८,९३,०५४÷– रकम बराबरको बजेट अनुमोदन गरिएको थियोे । ५) यस आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा तानसेन नगरको विकास कार्यलाई अगाडी बढाउने र केहि थप सामाजिक सुरक्षाका कार्यक्रमहरु अगाडी सारिएको छ । जसअन्तर्गतः क. ‘ग’ वर्गको अपाङ्गता कार्ड भएका व्यक्तिहरुलाई मासिक रु ५००।– भत्ता उपलब्ध गराउने । ख. न्युनतम २० युनिटसम्म विद्युत खपत गर्ने तानसेन नगरबासीको शुल्क नगरपालिकाबाट भुक्तानी गरिदिने । ग. समुदायस्तरबाट सञ्चालित लघु प्रकृतिका लिफ्ट खानेपानी आयोजनामा खपत हुने विद्युत महशुलमा २५ प्रतिशत अनुदान दिने । घ. समुदायमा पछाडि परेका जाति वर्ग, अल्पसंख्यक र दलित समुदायको र ६० वर्ष नाघेका अविवाहित र एकल जीवनयापन गरेका पुरुषहरुलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बीमा शुल्क नगरपालिकाबाट भुक्तानी गर्ने । ङ. गत आ.व.को नियमित कार्यक्रमहरु छोरी शिक्षा कार्यक्रम, बीमा कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ । च. बजेटको बाँडफाँड गर्दा पहिले गरेको अभ्यास भन्दा फरक तरिका अपनाई नगर विकास वडाको विकासबाट मात्र सम्भव छ भन्ने मान्यतालाई आत्मसाथ गरी भूगोल र जनसंख्याको आधारमा प्रत्येक वडालाई समानुपातिक हिसावले बजेटको बाँडफाँड गरिएको छ । जसले गर्दा प्रत्येक वडाहरुले न्युनतम ९० लाख देखि अधिकतम रु एक करोड दश लाखसम्म वार्षिक बजेट प्राप्त गरेका छन् । यो हामीले गरेको नौलो अभ्यास हो जसले गर्दा नगरवासीहरुको स्रोत र साधनमा सहज पहुँच पुग्न सक्ने विश्वास लिएका छौं । छ. तानसेन नगरपालिका, हेफर इन्टरनेशनल, ग्ल्म्ए र स्थानीय संस्था रेडाको सहभागितामा विभिन्न खालका कृषि तथा पशुपालन सम्बन्धी कार्यहरु सम्पन्न भएको । जस अन्तर्गत नगरभित्र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले एकल वा समुह बनाई १०० बाख्रा, २५ पाडा, ३० बंगुरपालक कृषकहरुलाई प्रति कृषक अधिकतम रु २ लाखसम्म अनुदान सम्झौताको व्यवस्था गरिएको छ । ज. दूग्ध उत्पादनमा वृद्घि र उत्पादित भएको दूधको बजारीकरण गर्नका लागि किसानलई प्रोत्साहन स्वरुप प्रतिलिटर रु २।–दूधमा अनुदान दिने व्यवस्था कार्यान्वयनमा लगिएको । ६) तानसेन लगायत लुम्बिनी र गण्डकी प्रदेश अन्तर्गतका १५ वटा पालिकहरुको आर्थिक, सामाजिक स्तर अभिवृद्घि गर्न ल्याइएको ‘सिद्घार्थ आर्थिक करिडोर’ को योजना अन्तर्गत हालै २०७९ श्रावण २० गते देखि २२ गतेसम्म पोखरामा तानसेन नगरपालिकाको संयोजकत्व र इपिआईको सहयोगमा सिद्घार्थ आर्थिक करिडोरका उद्वेश्यहरुको कार्यान्वयनका सन्दर्भमा ६ बुँदे घोषण पत्र जारी गरि कार्यक्रम सम्पन्न भएको थियो । ७) आ.व. ०७९÷०८० मा भौतिक पूर्वाधार अन्तर्गत निर्माण कार्य गर्नुपर्ने विविध समपुरक कार्यक्रम अन्तर्गत निम्न योजनाहरुको बोलपत्र आह्वान गरिसकिएको छ । जसअनुसार श्री अमरनारायण मन्दिरको जिर्णोद्घार, वडा नं. ६ को जैसीचौपारी–कारागार सडक स्तरोन्नती, तानसेन नगरपालिकाको मूलभवनको मिनिहल तथा चमेना गृह निर्माण र वडा नंं. १२ को बौघागुम्हा–छेर्लुङ्ग जाने पक्की बाटो निर्माण कार्य रहेको छ । ८) निकट भविष्यमा भौतिक पूर्वाधार अन्तर्गत निर्माण गर्नुपर्ने समपुरक र शशर्त तर्फ निम्न योजनाहरुको बोलपत्र आह्वान गर्ने प्रक्रियामा रहेको छ । जसअनुसार वडा नं. १२ को बौघापोखराथोक–जोर्ते सडक स्तरोन्नती, वडा नंं. १ को पलधारा–धु्रवघाट सडक स्तरोन्नती, वडा नं. ९ स्थित दमकडा मा.वि. को भवन निर्माण र वडा नंं ५ मा आधुनिक बसपार्कको पहिलो चरणको निर्माण कार्य रहेको छ । ९) तानसेन नगरपालिकाको विकास कार्यलाई अगाडी बढाउन आवश्यक स्रोत र साधन जुटाउनका लागि राजश्वमा वृद्घि गर्नुपर्ने चुनौती रहेको छ । त्यसका लागि वर्षौदेखि वास्ता नगरिएको नदी तथा खोलाजन्य निर्माण सामाग्रीको राजश्व संकलनमा चासो लिइ गत आ.व.मा नै रु. ४२,९५,८०८÷– राजश्व उठाएका छौं । साथै आगामी दिनमा यसलाई व्यवस्थित गर्न र चुहावट नहुनका लागि ठेक्का प्रक्रियामा लगिने छ। १०) तानसेन श्रीनगर पर्यटकीय क्षेत्रको विकासका लागि र त्यसबाट बढि राजश्व संकलन गर्न, विगतमा भएका राजश्व चुहावटलाई रोक्न, विगतमा ठेक्का दिएका पक्षहरुसँग रहेको बाँकी राजश्व रु १०,३६,०४५÷– रकम जम्मा गर्ने ताकेता गरिएको र सो ताकेता नमानेको हुँदा नियमानुसार सो सबै फाइल तथा अन्य कागजातहरु जिल्ला प्रशासन कार्यालय पाल्पामा आवश्यक कारवाहीका लागि लेखि पठाइएको छ । चालु आ.व.मा श्रीनगर डाँडा, रानीमहल लगायतका पर्यटकीय क्षेत्रहरुमा आउने पर्यटकहरुको सेवा सुविधा स्थलको व्यवस्थापन र राजश्व संकलन नगरपालिका आफैले प्रत्यक्ष रुपमा गरिआएको छ । प्रतिफलको रुपमा हाल आ.व.को पहिलो महिना भित्रै श्रीनगरबाट रु १,७५,८७५÷– र रानीमहलबाट रु १,४८,९४०÷– राजश्व संकलन भएको जानकारी गराउँछु । ११) तानसेन नगरपालिकाको सेवा प्रवाहलाई जनमुखी बनाउन प्रत्येक वडामा एक जना प्राविधिक, एक जना प्रशासनिक र अरु थप २ जना सहायक स्तरका कर्मचारीहरु रहने गरी पुर्नसंरचना गरिएको छ । साथै १४ वटा वडाहरुलाई पहुँचका आधारमा विभाजन गरी योजना कार्यहरु सम्बन्धी सबै कार्यहरु गर्न दुईवटा केन्द्रहरु कायम गरिएको छ । उक्त केन्द्रमा इन्जिनियर रहने व्यवस्था मिलाइएको छ । यसले गर्दा साना–तिना भौतिक निर्माण कार्यका लागि नगरपालिका कार्यालयमा धाउनु पर्ने बाध्यताबाट नगरबासीहरु मुक्त हुने विश्वास लिएका छौं । १२) तानसेनमा रहेका छाडा पशुहरुको उद्घार गरी तिनीहरुलाई तानसेन नगरपालिका १४ कुसेनीमा रहेको रुरु गौ सेवा आश्रममा लगि व्यवस्थापन गरिएको छ । १३) तानसेनमा जनसंख्याको चाप वृद्घि गर्न र बसाइसराइ रोक्नका लागि घर निर्माण सम्पन्न र बाटोको मापदण्ड सम्बन्धीत नीतिहरुमा हेरफेर गरी थोरै क्षेत्रफल भएका जग्गाधनीहरुले पनि निर्माण कार्य गर्न पाउने गरी निर्णय प्रक्रिया अगाडी बडाइएको र नियम विपरित घर निर्माण कार्य गरेको भए निर्धारित शुल्क र जरिवाना असुल उपर गरि कानुनले नबाज्ने अवस्थामा अभिलेखिकरण गर्ने व्यवस्था मिलाईएको छ । १४) २०७९ जेठ २० गते वडा नं. ११ को वडा कार्यालय शिलन्यास गरिएको छ र वडा नं. १ को वडा कार्यालयको निर्माण कार्य नियमानुसार अगाडी बढाइएको छ । १५) विगतमा नगरपालिकासँग साझेदारीको रुपमा विभिन्न क्षेत्र र विषयमा कार्य गर्दै आएका ग्क्US AID, UK AID, The Asia Foundation, Caritas Nepal, Recross Society, Heifer International, UNDP, REDA जस्ता अन्तराष्ट्रिय तथा स्थानीय संस्थाहरुसंगको कार्यक्रमलाई निरन्तरता दिइएको छ भने Citynet, TPO लसान नगरपालिका चीन र लुम्बिनी गार्डेन फाउन्डेशन स्पेन जस्ता संस्था तथा पालिकाहरुसँग भगिनी सम्बन्धलाई निरन्तरता दिइएको छ । अन्तमा, अत्यन्त छोटो समय अवधिमा पनि हामिलाई सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधिहरु पालिकाका कर्मचारीहरु, सम्पूर्ण नगरवासीहरु र सञ्चारकर्मीहरुलाई धन्यवाद व्यक्त गर्दछु । आशा छ, आगामी दिनहरुमा पनि सम्पूर्ण सरोकारवाला र नगरवासीहरुबाट आवश्यकिय सहयोग गर्नुहुने छ भन्ने अपेक्षा गरेको छु । धन्यवाद । सन्तोषलाल श्रेष्ठ नगर प्रमुख तानसेन नगरपालिका, पाल्पा
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update