Erani Mahal
रामपुरकाे अन्धकार मुक्ति सहकारी लुम्बिनी प्रदेशमै उत्कृष्ट
andhakar
पाल्पा- अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था यस वर्ष लुम्बिनी प्रदेशमै उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) ले आफ्नो ३५औँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशका बचत तथा ऋण सहकारीमध्ये अन्धकारमुक्तिलाई उत्कृष्ट पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । नेफ्स्कुनले असार १५ देखि साउन १५ गतेसम्म पुस्कारका लागि आवेदन आह्वान गरेको थियो । जसअनुसार लुम्बिनी प्रदेशबाट अन्धकारमुक्ति साकोस छनोट भएको छ । पुरस्कार भने नेफ्स्कुनले आगामी साधारणसभामा प्रदान गर्ने जनाएको छ । यस सहकारी गत वर्ष पनि लघुवित्ततर्फ उत्कृष्ट भएको थियो । विसं २०५५ मा खेतको आलीबाट सुरु भएको अन्धकारमुक्तिले हाल पाल्पा जिल्लाभर आफ्नो सञ्जाल विस्तार गर्न सफल भएको छ । १० हजारभन्दा बढी शेयर सदस्य आबद्ध रहेको यस सहकारीको कुल पूँजी एक अर्ब ३२ करोड रहेको छ । बचत तथा ऋणको कारोबार गर्दै आएको सहकारीले लघुवित्त सेवा प्रदान गर्दै आएको छ । रामपुर नगरपालिका–७ डुम्रीगाउँमा प्रधान कार्यालय रहेको यसले हाल रामपुर–५ बेझाँड बजार, रामपुर–९ को जब्गादी, रामपुर–१० को रामटार, निस्दी–५ को ढुङ्गानाबेँसी र रम्भा गाउँपालिका–५ को ताहुँ सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको संस्थाका व्यवस्थापक दीपेन्द्र पौडेलले जानकारी दिनुभयो । यस सहकारीले सेवाग्राहीलाई दृष्टिगत गर्दै तीन सय ६५ दिन नै सेवा दिँदै आएको र लघुवित्तमार्फत धेरैले व्यापार, व्यवसाय गरेर राम्रो प्रगति गर्न सफल भएको संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटा बताउनुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update