Erani Mahal
पाल्पा- बुटवल जाेड्ने केबलकार माघ महिनादेखि सञ्चालनमा आउने
Cable-car-Lumbini
पाल्पा- रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाउ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौषभित्र सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने बताउनुभएकाे छ । करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरू निर्माण हुनेछन् । ‘केबलकारको तल्लो स्टेशनसम्म पुग्ने करिब ४०० मिटर पहँुचमार्गको निर्माण कार्य सम्पन्न भएको छ । तल्लो स्टेशनको सब–स्ट्रक्चरको निर्माण कार्य करिब सम्पन्न भई सुपर स्ट्रक्चरको कार्य र साइट डेभलपमेन्टको कार्य अगाडि बढिरहेको छ । नौ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडि बढिरहेको छ,’ उहाँले भन्नुभयाे । साथै उहाँले माथिल्लो स्टेशनमा सब–स्ट्रक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपूर्जाहरूको आयात गर्ने काम अगाडि बढेको बताए । त्यसैगरी उनले माथिल्लो स्टेशनमा रहेको मन्दिर क्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँगसँगै सम्पन्न गर्नुपर्ने भएकाले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै शर्तबमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको बताएका छन् । ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तर्राष्ट्रिय चेन होटलसँग आबद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदाताहरूसँग छलफल भइरहेको जानकारी गराउनुभयाे । केबलकारको २०७७ फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update