Erani Mahal
पाल्पामा यात्रुबहाक सवारीसाधनद्वारा मनपरी भाडा अशुल
IMG_2329traffic (11)
पाल्पा – पाल्पामा सञ्चालन हुने यात्रुबहाक सवारीसाधनले यात्रुबाट मनपरी भाडा अशुल गरेका छन् । जिल्लाभित्र यात्रु बोक्ने सवारीसाधनले यात्रुबाट मनपरी भाडा अशुलेको यात्रुहरूको गुनासो बढेको छ । जिल्लाको तानसेन–बुटवल, तानसेन–हार्थोक–छहरा, तानसेन–रामपुर, तानसेन–बाँसटारी–झडेवा सडकखण्डमा सरकारले तोकेको भन्दा तेब्बर भाडा तिर्नुपरेको यात्रुको गुनासो छ । पक्की सडक तथा ग्राभेल सडकका लागि सरकारले पछिल्लो पटक प्रतिकिलोमिटर दुई रुपियाँ ९३ पैसा व्यक्तिगत भाडा तोकेको थियो । तर पाल्पाका अधिकांश यात्रुबहाक बस, कार, भ्यान तथा जिपले भने दोब्बर/तेब्बर भाडा अशुल गर्दै आएको तानसेन–९, का स्थानीय बासिन्दा ध्रुबप्रसाद पंगेनीले गुनासो गर्नुभयो । पाल्पामा सञ्चालित यात्रुबहाक बसले पक्की सडकमा समेत प्रतिकिलोमिटर १५ रुपियाँ भाडा लिने गरेको उहाँले बताउनुभयो । बाँसटारीदेखि देउगीरसम्मको पक्की सडकमा यात्रुबहाक सवारीसाधनले प्रतिकिलोमिटर १५ रुपियाँ भाडा लिएको गुनासो उहाँले गर्नुभयो । यात्रुबहाक बसको अचाक्ली भाडाका विषयमा यात्रुहरूले विभिन्न स्थानमा गुनासो राख्ने गरेपनि हालसम्म सम्बोधन हुन नसकेको उनीहरूको भनाई छ । जिल्लाको तानसेन–छहरा सडकखण्डमा समेत यात्रुबहाक बस तथा मिनीबस, जिप, कार तथा भ्यानले समेत तेब्बर भाडा अशुल गरेका छन् । यात्रुबहाक सवारीसाधनले लिने भाडाको विषयमा नियमित अनुगमन हुन नसक्दा यात्रुलाई सवारीसाधनले मनपरी भाडा लिने गरेका छन् । सवारीसाधनले यात्रुहरूले देख्ने स्थानमा भाडा टाँस गर्नुपर्ने, होर्डिङ् बोर्ड राख्नुपर्ने जस्ता प्रावधान पाल्पाका सवारीसाधनले कार्यान्वयन गरेका छैनन् । बस, भ्यान, जिप, कारमा कही पनि भाडा सम्बन्धी सूचना टाँस गरिएको छैन । जिल्ला सदरमुकाम तानसेनदेखि रामपुर जाने सडकमा यात्रुहरूले प्रतिकिलोमिटर १३ देखि १७ रुपियाँसम्म भाडा तिर्न बाध्य भएका छन् । रामपुर क्षेत्रको पक्की सडकमा भ्यानले प्रतिकिलोमिटर १७ रुपियाँ र बसले १३ रुपियाँ लिने गरेको स्थानीय बासिन्दाको भनाई छ । यात्रुबहाक सवारीसाधनले मनपरी भाडा अशुल गरेको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले अनुगमन गर्ने तयारी गरेको छ । जिल्लामा सञ्चालित पञ्चिामाञ्चल यातायात व्यवसायी र श्रीनगर यातायात व्यवसायी समितिबाट सञ्चालित सवारीसाधनले मनपरी भाडा लिएको गुनासो आएको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । ‘यात्रुबहाक सवारीसाधनले तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएको छ उहाँले भन्नुभयो गुनासो आएपछि अनुगमन गर्ने तयारी गरेका छौँ ।’ अनुगमनका क्रममा यात्रुबाट मनपरी भाडा लिए कानुनअनुसार ठगीको मुद्दा चलाइने मल्लले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update