Erani Mahal
पाल्पामा १८ हजार बढी सवारीसाधन कारबाहीमा परे
IMG_2329traffic (11)
पाल्पा – एक वर्षको अबधिमा पाल्पामा १८ हजार बढी सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार चार सय ६६ सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ट्राफिक नियमको उल्लङ्घन गरी सवारीसधान सञ्चालन गरेको पाइएकाले कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्लामा सबैभन्दा बढी कारबाहीमा पर्ने सवारीसाधनमा मोटरसाइकल परेको छ । गत आवमा पाँच हजार पाँच सय ५० मोटरसाइकल कारबाहीमा परेको प्रहरीले जनाएको छ । यस्तै पाँच हजार तीन सय ९४ जिप र कार, तीन हजार पाँच ८७ टिपरसहित ट्रक र मिनी ट्रक, दुई हजार चार सय ६४ बस तथा मिनी बस कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । यस्तै एक हजार चार सय ७१ ट्याक्टर समेत कारबाहीमा परेका उहाँले जानकारी दिनुभयो । ट्राफिक प्रहरीको कारबाहीबाट आर्थिक वर्ष २०७८/०७९ मा एक करोड १३ लाख ७१ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन मल्लले बताउनुभयो । क्षमताभन्दा बढी यात्रु तथा मालसामान बोक्ने, अत्याधिक गतिमा कुदाउने, सवारीचालक अनुमतिपत्र नलिनेलाई कारबाही गरिएको छ । यस्तै जहाँतहीँ पार्किङ् गर्ने, बेल्ट नलगाई सवारी हाक्ने, मोटरसाइकलमा तीन जना यात्रु बोक्नेलाई समेत कारबाही गरिएको प्रनानि मल्लले बताउनुभयो । केही चालक सवारीसाधन हाक्ने बेलामा मोबाइलमा बोल्ने गरेकाले समेत कारबाही गरिएको ट्राफिक प्रहरीको भनाई छ । जिल्लामा दुर्घटना हुने क्रम बढेकाले सम्भावित दुर्घटनालाई न्युनीकरण गर्ने अभियान अन्तर्गत ट्राफिक कारबाहीलाई अगाडि बढाइएको प्रहरीले जनाएको छ । चेकजाँच र सचेत पार्ने अभियानले दुर्घटना न्युनीकरण गर्न भूमिका खेलेको मल्लले बताउनुभयो । प्रहरीले दुर्घटना न्युनीकरण गर्न जनचेतना अभिवृद्धि, होर्डिङ् बोर्ड राख्ने, चेकजाँच गर्नेलगायतको क्रियाकलापहरू गर्दै आएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update