Erani Mahal
विकासका नाममा पाल्पाका वनमा फँडानी
IMG_3192
पाल्पा – जिल्लाको विभिन्न स्थानमा विकास निर्माणको नाममा वन फँडानी गर्ने क्रम बढेको छ । जिल्लाको तानसेन, रैनादेवी छहरा, तिनाउ, माथागढी, निस्दी गाउँपालिकाको विभिन्न स्थानमा वन पँडानी गर्ने क्रम बढेको हो । स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारका विकासे आयोजना सञ्चालन गर्ने नाममा वन पँडानी गर्ने क्रम बढेको हो । बाटो बनाउन, नाला बनाउन, भवन बनाउन, विद्युत्को पोल तथा तार बिस्तार गर्न तथा विभिन्न संरचना निर्माण गर्न सामुदायिक र राष्ट्रिय वनका रुख काट्ने क्रम बढेको हो । पछिल्लो एक वर्षयता पाल्पामा कालीगण्डकी कोरिडोर–२२० केभी प्रशारण लाइन आयोजनाको नाममा हजारौँ सालसहितका रुख काटिएका छन् । जिल्लाको तानसेन, माथागढी, बगनासकालीलगायतका क्षेत्रमा विद्युत्का तार तथा पोल बिस्तार गर्न हजारौँ रुख काटिएको उपभोक्ताको गुनासो छ । विद्युत् प्रशारण लाइन विस्तारका लागि सामुदायिक, राष्ट्रिय वन तथा निजी वनका रुख फँडानी भएको छ । माथागढी गाउँपालिकाको वटा नं. ५, र ६ को गरी पाँच वटा सामुदायिक वनको हजारौँ सालका रुख काटिएको स्थानीय बासिन्दा सन्तोष भट्टराईले बताउनुभयो । विद्युत्को लाइन बिस्तार गर्न भनेर उपभोक्ताले वर्षौदेखि हुर्काएका सालका रुख काटिएको भट्टराईले बताउनुभयो । माथागढी गाउँपालिका–५ स्थित हात्तीलुङ अन्तर्गत मलौटा चौपारी, टोक्लाक्दी, माथा, भावना, गोरेडाँडा सामुदायिक वनमा रुख फँडानी भएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी संयोग बस्नेतले भने विद्युत् विस्तारका लागि पाल्पाका विभिन्न स्थानबाट चार हजार सात सय बढी रुख कटान अनुमति पाएको बताउनुभयो । उहाँले कालीगण्डकी विद्युत् प्रशारण लाइनका लागि माथागढीमा मात्रै एक हजार छ सय ९७ वटा रुख कटानको अनुमति पाएको जानकारी दिनुभयो । यद्यपी उपभोक्ताले भने अनुमतिभन्दा बढी रुख कटान भएको जनाएका छन् । उक्त आयोजनाका लागि बगनासकालीको कुवेर सामुदायिक वन, कालिका सामुदायिक वन, तानसेन–९, को पोषपाखा सामुदायिक वनबाट रुख कटानको अनुमति पाएको छ । अनुमति पाएका स्थानमा रुख कटान तथा ओसारपोसार गर्न डोजर लगाएर सडक समेत खनिएको छ । जङ्गल फँडानी कति क्षेत्रफलमा गर्ने हो, कसरी गर्ने हो भन्ने विषयमा भने उपभोक्तालाई जानकारी समेत हुँदैन । यसले पनि वन फँडानी जथाभावी भएको तानसेन–९, पोषपाखाका स्थानीय बासिन्दा जगत रानाले बताउनुभयो । कालीगण्डकी विद्युत् प्रशारण लाइनका लागि मात्र होइन, तानसेनको वडा नं. ७ को कुनसरेमा समेत औद्योगिक ग्राम निर्माणका लागि सयौँ रुख कटान गरिएको छ । औद्योगिक ग्राम निर्माणका लागि साल, सिसौँ, फडिहार जातका सयौँ रुख काटिएको स्थानीय बासिन्दाको भनाई छ । पछिल्लो समय विकास निर्माणको नाममा रुख फँडानी बढेको र उपभोक्ताले रोक्न सक्ने अवस्था नरहेको वन उपभोक्ता महासङ्घ पाल्पाका अध्यक्ष निरन्जन भुसालले बताउनुभयो । कतिपय सामुदायिक वनका उपभोक्तालाई सामान्य जानकारी समेत नदिइ वन फँडानी भइरहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update