Erani Mahal
लुम्बिनी प्रदेशमा २०२ किलोमिटर सडक कालोपत्रे, कुन जिल्लामा कति ?
bato kalopatreee (1)
लुम्बिनी प्रदेश सरकारले १ वर्षमा २ सय २ किलोमिटर सडक कालोपत्रे गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशका १२ जिल्लामा गरी २ सय २.३२ किलोमिटर सडक कालोपत्रे गरेको हो । जबकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा ३६२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको थियो । प्रदेश सरकारले आफैँले लिएको लक्ष्यको करिब ५६ प्रतिशत मात्रै सडक कालोपत्रे सम्पन्न गरेको छ । बहुवर्षिय आयोजनाहरु कार्यान्वयनमा कारोना लगायतका कारणले आयोजनाको समय लम्बिदा लक्ष्य पुरा हुन नसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भिमार्जुन पाण्डे बताउनुभयो । साथै बजेटको पनि निश्चित सिमा रहेकाले लक्ष्यको ७० प्रतिशत भन्दा धेरै खर्च गर्न नहुने र अर्थ मन्त्रालयले रकमान्तरलाई कडाई गरेको कारण सोचे जति काम नभएको प्रवक्ता पाण्डे बताउनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा रुपन्देही र नवलपरासी जिल्लामा गरी १२० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएकोमा ८२.२१ किलोमिटर सडक कालोपत्रे गरेको छ । नवलपरासी पश्च्मिको काम पनि सडक पूर्वाधार विकास कार्यालय, रुपन्देहीले हेर्ने गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार बर्दियामा ३० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको थियो । जसमध्ये २०.९ किलोमिटर सडक कालोपत्रे भएको छ । दाङमा ८.०९ किलोमिटर सडक कालोपत्रे भएको छ भने बाँकेमा १३.९१ किलोमिटर सडक कालोपत्रे भएको छ । प्रदेश सरकारले दाङमा १६ र बाँकेमा २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । अर्घाखाँचीमा १३.७६ किलोमिटर र पाल्पामा ११.१०३ किलोमिटर सडक कालोपत्रे भएको छ । प्रदेश सरकारले अर्घाखाँचीमा ४५ र पाल्पामा २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो । यस्तै गुल्मीमा १०.०७, प्यूठानमा ७.६४, कपिलबस्तुमा ३३.८९ र रोल्पामा ६ किलोमिटर सडक कालोपत्रे भएको छ । जबकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा गुल्मीमा ३५, प्यूठानमा १५, कपिलबस्तुमा ५५ र रोल्पामा ६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको थियो । तर, पूर्वि रुकुममा भने गत वर्ष १ किलोमिटर पनि सडक कालोपत्रे भएको छैन् । पूर्वि रुकुममा गतवर्ष सडक कालोपत्रे गर्ने लक्ष्य नभएकाले काम पनि नभएका मन्त्रालयका प्रवक्ता पाण्डे बताउनुभयाे ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update