Erani Mahal
आव २०७८/०७९ मा पाल्पाकाे विकास बजेट खर्च ६० प्रतिशत मात्रै, ४० प्रतिशत खर्च भएन
palpa map(1)
पाल्पा – गत वर्ष पाल्पाको विकासका लागि आएको कुल बजेटको ६० प्रतिशत मात्र खर्च भएको छ । आव २०७८/०७९ मा सङ्घीय र प्रदेश सरकारबाट विनियोजन भएको पूँजीगततर्फको सात अर्ब ३१ करोड ८९ लाख बजेटमध्ये दुई अर्ब ९८ करोड १२ लाख मात्र खर्च भएको हो । विकास बजेटकाे ४० प्रतिशत बजेट खर्च भएन । कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाका प्रमुख शशीन्द्र खातीले गत आव २०७८/०७९ मा पूँजीगततर्फको कुल बजेटको ६० प्रतिशत मात्र खर्च भएको जानकारी दिनुभयो । यस्तै चालु खर्चतर्फ प्राप्त भएको सात अर्ब ६५ करोड ७२ लाख रकममध्ये सात अर्ब ३० करोड २० लाख रुपियाँ खर्च भएको छ । यो खर्च चालुतर्फको कुल बजेटको ९५ प्रतिशत रहेको उहाँले बताउनुभयो । गत आवमा पूँजीगततर्फको सबैभन्दा धेरै सडक डिभिजन कार्यालय पाल्पा र कालीगण्डकी कोरिडोरको बजेट खर्च हुन नसकी फिर्ता भएको छ । सडक डिभिजन कार्यालय पाल्पाका लागि पूँजीगततर्फ विनियोजन भएको ५३ करोड चार लाख ३९ हजार बजेटमध्ये २५ करोड ९१ लाख ६२ हजार रुपियाँ मात्र खर्च भएको छ । यो कुल रकमको ४९ प्रतिशत रकम हो । उत्तर दक्षिण (कालीगण्डकी) लोकमार्ग आयोजनाका लागि प्राप्त कुल पूँजीगत बजेट तीन अर्ब ६४ करोड १ लाख बजेटमध्ये एक अर्ब ७३ करोड १२ लाख मात्र खर्च भएको छ । यो बजेट कुल पूँजीगत बजेटको ४७ प्रतिशत मात्र हो । यसरी जिल्लाको भौतिक पूर्वाधार निर्माणका लागि प्राप्त भएका करोडौँ बजेट खर्च हुन नसकी फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालयको भनाई छ । यस्तै लुम्विनी प्रदेश सरकार मातहत रहेको सडक पूर्वाधार कार्यालयमा प्राप्त ७५ करोड ४४ लाख १८ हजर पूँजीगत बजेटमध्ये ४६ करोड ८९ लाख २२ हजार मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले जनाएको छ । यस्तै शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाका लागि प्राप्त पूँजीगत बजेट १८ हरोड ४६ लाख ४१ हजारमध्ये आठ करोड ७२ लाख ९७ हजार मात्र खर्च भएको छ । जिल्लास्थित विकासे कार्यालयहरूको बजेट कार्यान्वयनको अवस्था प्रभावकारी नभएको स्थानीय बासिन्दाको भनाई छ । गत आवमा पूँजीगत र चालु तर्फ विनियोजन भएको कुल बजेटको ७८ प्रतिशत बजेट खर्च भएको छ । जिल्लास्थित कार्यालयहरूको चालुतर्फ र पूँजीगततर्फ विनियोजन भएको कुल बजेट १४ अर्ब ९७ करोड ६१ लाख बजेटमध्ये ११ अर्ब ६३ करोड १० लाख मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update