Erani Mahal
एसईई नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा !
rastriya-pariksha-board-neb
काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदै छ । नतिजा सार्वजनिक गर्ने निर्णय गर्न आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक हुने जानकारी दिए । उनले भने, ‘हामी अन्तिम तयारीमा छौं । नतिजा बुधबार आउँछ ।’ शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रुपमा परीक्षा केन्द्रमा नै उपस्थिति भएर परीक्षा दिएका थिए । परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए । नतिजा ग्रेड अनुसार नै सार्वजनिक गरिने छ । ९० र सोभन्दा माथि अंक ल्याउनेलाई ए प्लस, ८० र सोभन्दा माथि तर ९० भन्दा कम ल्याउनेलाई ए, ७० र सोभन्दा माथि तर ८० भन्दा कम अंक ल्याउनेलाई बी प्लस तथा ६० र सोभन्दा माथि तर ७० भन्दा कम अंक ल्याउनेलाई बी ग्रेड दिइने छ । यसैगरी ५० र सोभन्दा माथि ६० भन्दा कम अंक ल्याउनेलाई सी प्लस र ४० र सोभन्दा माथि तर ५० भन्दा कम अंक ल्याउनेलाई सी ग्रेड दिइने बोर्डले जनाएको छ । यसरी हेर्न सकिन्छ नतिजा एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ । यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update