Erani Mahal
मर्मत नहुँदा पाल्पाका लघु जलविद्युत् आयोजना अलपत्र बन्ने खतरा
JIrna pole
पाल्पा – पाल्पाको माथागढीमा रहेका तीन साना लघु जलविद्युत् आयोजनाका संरचना जीर्ण बनेका छन् । लामो समयसम्म मर्मतसम्भार नहुँदा लाखौँ लगानी भएका लघुजलविद्युत् आयोजनाका संरचना जीर्ण बनेका हुन् । जिल्लाको माथागढी–७, रहबासको अरुणखोला लघुजलविद्युत् र माथागढी–५, मा रहेका झुम्साखोला लघुजलविद्युत्–दोस्रो र तेस्रो आयोजना लामो समयदेखि मर्मतसम्भार हुन नसक्दा लघु जलविद्युत्का संरचना जीर्ण बनेको स्थानीय बासिन्दाको भनाई छ । एक दशकअघि स्थानीय बासिन्दा, तत्कालिन जिविस तथा गाविसको आर्थिक सहयोगमा बनेका लघुजलविद्युत् आयोजनाका संरचना पछिल्लो दश वर्षयता उचित मर्मत हुन सकेका छैनन् । आयोजनामा प्रयोग भएका काठका पोल तथा विद्युतीय सामग्री, पक्की कुलो तथा पाइप जीर्ण बनेका छन् । यसका साथै विद्युत् उत्पादनगृहभित्र रहेका विद्युतीय सामग्री समेत जीर्ण बनेको अरुणखोला लघुजलविद्युत् आयोजनाका सचिव लोकबहादुर ढेँगाले बताउनुभयो । ‘जलविद्युत् आयोजनाका संरचना बेला–बेलामा मर्मतसम्भार हुनुपर्ने हो उहाँले भन्नुभयो मर्मतसम्भार गर्ने आर्थिक स्रोत नहुँदा विद्युत् उत्पादन कम हुँदै गएको छ ।’ आफूहरूले विद्युत् मर्मतसम्भार गर्न आर्थिक स्रोत जुटाउन नसकेको उनीहरूको भनाई छ । माथागढीको दुई वटा वडामा सञ्चालित तीन वटा लघुजलविद्युत् आयोजनाबाट यहाँका एक हजार एक सय बढी घरधुरी उज्याँलोमा बस्न पाएका छन् । तीन वटै आयोजनाबाट अहिले एक सय २० किलोवाट बढी विद्युत् उत्पादन भएको झुम्साखोला लघुजलविद्युत् आयोजना तेस्रोका सचिव थमनबहादुर गाहाले बताउनुभयो । आयोजनाका पार्टपूँर्जा, कुलो, काठका पोल तथा अन्य सामग्रीको बेला–बेलामा मर्मतसम्भार हुन नसक्दा अहिले उत्पादन घटेको उहाँले बताउनुभयो । उपभोक्ताले मासिक रुपमा सङ्कलन गरेको रकमले कर्मचारी खर्च र सामान्य मर्मत गर्दा नै सकिने उपभोक्ताको भनाई छ । विद्युत् उत्पादनघरमा पानी खसाल्ने पाइप, कुलो, पोल बिग्रियो भने महिना दिन अध्याँरोमा बस्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा सन्तोष भट्टराईले बताउनुभयो । उपभोक्ता र राज्यको लाखौँ लगानी भएको लघुजलविद्युत् आयोजना निरन्तर सञ्चालन गर्न कुनै पनि तहको सरकारले ध्यान नदिएको गुनासो उहाँले गर्नुभयो । सरकार र स्थानीय बासिन्दाले लाखौँ लगानी गरेको लघुजलविद्युत् आयोजना निरन्तर सञ्चालन गर्न सरकारले ध्यान दिनुपर्ने स्थानीय बासिन्दाको माग छ । एक हजार बढी घरधुरीका स्थानीय बासिन्दाले प्रयोग गर्दै आएको लघुजलविद्युत् आयोजनाको निरन्तर सञ्चालनमा स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने अरुणखोला लघुजलविद्युत् आयोजनाका अध्यक्ष छकलाल चौहानले बताउनुभयो । विद्युत् आयोजनाको निरन्तर मर्मतमा ध्यान दिने हो भने यहाँ उत्पादित विद्युत् अन्य काममा समेत उपयोग गर्न सकिनेछ ।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update