Erani Mahal
पाल्पामा बन्याे ५ वटा पक्की पुल, ९ वटा यसै वर्ष सम्पन्न हुने
291393493_549489416724776_3896908578479202663_n
पाल्पा – लुम्विनी प्रदेश सरकारको लगानीमा पाल्पामा यो वर्ष पाँच वटा पक्की पुलको बनेको छ । जिल्लाको विभिन्न स्थानमा गत आव २०७८/०७९ मा पाँच वटा पक्की पुलको निर्माण सकिएको सडक पूर्वाधार कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार गत आवमा हुमिन–रिङ्नेरह–ज्यामिरे सडकखण्डको पूर्वखोलामा कोन्द्रेखोला पुल सम्पन्न भएको छ । यस्तै झुम्सा–चरङ्गे–धागोकारखाना सडकखण्डको ह्याकबारी पुल, ढुङ्गानाबेसी–झिरुबास सडकखण्डमा गल्घा पुल समेत यो वर्ष निर्माण सम्पन्न भएको छ । यस्तै तिनाउ–५, को चर्चरेमा चर्चरे पुल, निस्दी गाउँपालिका–६, स्थित अर्चले र गल्धा अर्चलेमा रेचेघाट पुल समेत सकिएको सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले जानकारी दिनुभयो । हासम्म निर्माण सम्पन्न भएका पाँच वटा पुलका लागि प्रदेश सरकारले १५ करोड ६८ लाख ४३ हजार रुपियाँ लगानी गरेको उहाँले बताउनुभयो । डेढ वर्षअघि प्रदेश सरकारकै लगानीमा तानसेन–९, अम्लिहानमा तिनाउ खोला पुल निर्माण सम्पन्न भइसकेको छ । प्रदेश सरकारकै लगानीमा चालु आव २०७९/०८० भित्रै थप नौँ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख गुप्ताले जानकारी दिनुभयो । चालुआव २०७९/०८० भित्र माथागढीको बधबारी, खहरे र अरुण खोला पुल निर्माण सम्पन्न हुनेछ । चालु आव २०७९/०८० भित्रै तानसेन–रानीमहल सडकखण्डमा गाइघाट पुल, रामपुरमा मसानेघाट पुल, तिनाउको सत्यवतीमा गोरबन्दी पुल निर्माण सम्पन्न हुनेछन् । यस्तै हुमिन–ज्यामिरे सडकखण्डको जमलेमा जमलेघाट पुल, झुम्सा–चरङ्गे–धागोकारखाना सडकखण्डमा पालनधारा र दिलदमारमा पुल बन्ने कार्यालयले जनाएको छ । पक्की पुल बनेपछि हिउँद र वर्षात्को समयको यात्रा सहज हुने स्थानीय बासिन्दाको भनाई छ ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update