Erani Mahal
लुम्बिनीमा मन्त्री हेरफेरको तयारी, पाल्पाका घर्तीकाे संभावना को-को छन् लाइनमा ?
Lumbini-pradesh-1024x547
रुपन्देही - लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रले मन्त्री हेरफेरको तयारी गरेका छन् । यो तयारीसँगै भाग पुर्‍याउन ५ महिने मन्त्री बनाउने तयारी भइरहेको दलभित्रै टिप्पणी हुन थालेको छ । गत साउन २६ गते बाँकी १६ महिना आधा-आधा कार्यकाल सरकार चलाउने गरी सत्ता साझेदार दल माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी र नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाबीच सहमति भएको थियो । सहमतिअनुसार फागुनमै मुख्यमन्त्री कुलप्रसाद केसीले सत्ता हस्तान्तरण गर्नुपर्ने भएपनि कांग्रेसको आन्तरिक विवादमा खेलेर समय लम्ब्याएको कांग्रेसकै नेताहरू बताउँछन् । लगत्तै स्थानीय तहको निर्वाचन, त्यसपछि नीति तथा कार्यक्रम र बजेटले ढिलाई भयो । मुख्यमन्त्री नै फेर्नेगरी सहमति भएपनि तत्कालका लागि सत्ता गठबन्धनका शीर्ष नेताबीच सहमति नजुटेकाले प्रमुख साझेदार नेपाली कांग्रेसले मन्त्री फेरबदल गर्ने तयारी गरेको हो । मन्त्री फेरबदलको लागि नेपाली कांग्रेसले प्रस्तावसँगै माओवादीले छलफल थालेको छ । माओवादी लुम्बिनी अध्यक्ष सुदर्शन बरालले मन्त्री फेर्ने तयारीमा छलफल चलेको पुष्टि गर्नुभयाे । अब बढीमा एक हप्ताभित्रै कांग्रेसले पार्टीबाट मन्त्री भएकालाई फिर्ता बोलाउने र नयाँ अनुहार सरकारमा पठाउने कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताउनुभएकाे छ । यद्यपि सबै मन्त्रीलाई फिर्ता बोलाउने या केहीलाई मात्रै हेरफेर गर्ने भन्ने टुंगो लागिसकेको छैन । कांग्रेसभित्रै पनि मुख्यमन्त्री फेर्नुपर्ने लबिङ भइरहेका बेला कनौडियासँग विश्वस्त हुन नसकेको नेताहरूले बताएका छन् । तर, थोरै समय भएपनि मुख्यमन्त्री बन्ने ध्याउनन् लिएर उनी काठमाडौंमा नेतासमक्ष धर्ना दिएर बसेका छन् । कनौडियाले केन्द्रीय नेताहरू बीचमा समझदारी हुनेवित्तिकै मन्त्री परिवर्तन हुने बताउनुभयाे । संघ र प्रदेशको निर्वाचन नजिकै आएको र मन्त्रीको कामसमेत प्रभावकारी नभएकाले मन्त्री परिवर्तन गर्नुपर्ने आवाज माओवादीभित्र पनि उठेको छ । ‘मन्त्री परिवर्तन गर्न कांग्रेसले प्रस्ताव गरेको हो, मन्त्री फेरिँदा माओवादीको पनि परिवर्तन गर्नुपर्छ भन्ने विषयमा छलफल भएको छ’, माओवादी लुम्बिनीका अध्यक्ष एवं सांसद सुदर्शन बरालले बताउनुभयाे । यस प्रदेशमा १७ जना मन्त्री रहेकोमा विमलाकुमारी वली खत्रीले राजीनामा दिएपछि १६ जना बाँकी छन् । जम्बो मन्त्रीमण्डलका बाबजुद सरकारको कामकारबाहीले गति नलिएको र बजेटसमेत खर्च हुननसकेको भन्दै आलोचना भइरहेको छ । नेपाली कांग्रेसबाट फकुरुद्दिन खान, निर्मला क्षेत्री, बैजनाथ कलवार, रमा अर्याल, भुवनेश्वर चौधरीले दौडधुप थालेका छन् । अहिले रहेका मन्त्रीमध्ये डिल्ली चौधरीबाहेक सबैलाई फेर्ने तयारीमा कांग्रेस रहेको छ । यद्यपि संस्थापन र इतर समूहको भागबण्डा मिलाउन समस्या परेको एक सांसदले बताउनुभयाे । यसैगरी माओवादी केन्द्रबाट यसअघि मन्त्री भइसकेका सुदर्शन बराल, सांसदहरू दामा शर्मा, तुलाराम घर्ती बसन्त, दिपेन्द्र पुनमध्येबाट मन्त्री बनाउने तयारी भइरहेको छ । यी सांसदहरुलाई गत साउन महिनामा सरकार बन्ने समयमै ८ महिनापछि चुनावी नेतृत्व गर्ने सरकारको मन्त्री बनाउने आश्वासन दिइएपनि १ वर्ष पूरा हुँदासम्म सहमति कार्यान्वयन नभएको बताउँदै आएका छन् । माओवादीबाट अहिले आर्थिक मामिला मन्त्री रहेका कृष्णध्वज खड्कालाई पार्टीले नफेर्ने भनेपनि माओवादी तथा गठबन्धनभित्रकै सांसदहरुले आलोचना गरेकाले उनी पनि फालिनसक्ने सम्भावना रहेको छ । बजेट निर्माणमा समेत मुख्यमन्त्री र माओवादीबाट आर्थिक मामिला मन्त्री बनेका कृष्णध्वज खड्काले एकलौटी गरेको भन्दै सत्ता साझेदार दल नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । बजेटमा माओवादीकै नेता आफ्नै अर्थमन्त्रीसँग असन्तुष्ट छन् । माओवादीभित्र अर्थमन्त्री खड्कालाई परिवर्तन गर्नुपर्ने आवाज नेताहरुले उठाएका छन् । कांग्रेस भने वीरबहादुर राना, सुरेन्द्र हमाल, वसिउद्धिन खाँन, राज्यमन्त्री रिना नेपाल विक र अर्जुन श्रेष्ठलाई परिवर्तन गर्ने तयारीमा रहेको छ । कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री केसीले परिवर्तन गर्न चाहेका छैनन् । तर, कांग्रेसकै एउटा समूह उनलाई पनि हटाउनुपर्ने पक्षमा छ । जनता समाजवादी पार्टीबाट मन्त्री भएका तीनजना र नेकपा एसका मन्त्री भने तत्काल हटाउने सम्भावना छैन ।
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update