Erani Mahal
डा. दामोदर रेग्मीको कौटिल्यको आलोकमा नेपालको भन्सार :  पुस्तक  चर्चा
Pustak-1-752x440
काठमाडौं – नेपालको राजस्व प्रशासनको क्षेत्रमा एउटा महत्वपूर्ण अनुसन्धान भएको छ । नेपालको राजस्व प्रशासनलाई पूर्वीय दर्शनको अवधारणा संग सामञ्जस्यता गर्ने कार्य दामोदर रेग्मीले गर्नु भएको छ । कौटिल्यकालीन भन्सार प्रशासनका सन्दर्भमा नेपालमा भन्सार प्रशासन सुधारको प्रभावकारिता शीर्षकमा गरिएको विद्यावारिधिको पुस्तक रुप कौटिल्यको आलोकमा नेपालको भन्सारले अव पुस्तक बजारमा प्रवेश पाएको छ । चाणक्य, विष्णुगुप्त र वात्स्यायन आदि नामबाट परिचित कौटिल्य चन्द्रगुप्त मौर्यका प्रमुख सल्लाहकार थिए । कौटिल्य एक राजनैतिक र आर्थिक विचारक थिए । आजभन्दा सयौं वर्ष अगाडि एउटा राज्य विशेषको आर्थिक स्रोत जुटाउन कौटिल्यले परिकल्पना गरेको कर प्रशासनभित्रको भन्सार प्रशासन तत्कालीन परिवेशमा मात्र होइन, वर्तमान आधुनिक युगमा समेत व्यावहारिक र सामयिक रहेकोे देखिन्छ । रेग्मीका अनुसार कौटिल्यले भन्सार प्रशासनको प्रभावकारिताका लागि भन्सार करको व्यवस्था, कर संकलन गर्ने प्रक्रिया, संस्थागत संरचना, मानव स्रोतको आवश्यकता, सदाचारिता, कानूनको परिपालना आदि पक्षमा ध्यान दिएको देखिन्छ । प्रस्तुत अनुसन्धानले कौटिल्यकालीन भन्सार प्रशासनको अवधारणाको वर्तमान भन्सार प्रशासनको अवस्थालाई हेर्दा प्रयोगमा ल्याइएका सवै सूचकहरूमा राम्रो अवस्था रहेको देखाएकोछ । यसमध्ये पनि राजस्वमा योगदान, कानूनी पक्ष, प्रतिस्पर्धी व्यापारिक वातावरण, उदीयमान अवधारणाहरूको प्रयोग र सुधारका प्रयासहरूको प्रभावको अवस्था राम्रो रहेको छ भने संरचनात्मक पक्ष, व्यापार सहजीकरण, सदाचारिता र सूचना प्रविधि र अन्य प्रविधि लगायतका सूचकहरूको अवस्था कमजोर देखिन्छ । यसमध्ये पनि व्यापार सहजीकरण, सदाचारिता र सूचना प्रविधि र अन्य प्रविधिको अवस्था पछाडि रहेको छ । प्रस्तुत पुस्तकका वारेमा विभिन्न विव्दानहरुले यसरी चर्चा गर्नु भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, प्रा.डा. सुधनकुमार पौडेल दामोदर रेग्मीले एउटा नवीन विषयलाई बहसमा ल्याइदिनुभएको वताउनुहुन्छ । अनुसन्धान केन्द्र उहाँको यो सत्प्रयासप्रति गौरवान्वित छ र म व्यक्तिगत रूपमा पनि उहाँलाई साधुवाद भन्छु । मलाई लाग्छ, उहाँको यो कार्य अनुसन्धान केन्द्रबाट भएका केही उल्लेख्य शोधभित्रै गणना हुन्छ । उहाँको शोधग्रन्थ नेपालको भन्सार प्रशासन सुधारको मार्गमा निर्देशक र सहयोगी बन्ने सामथ्र्य राखेको छ सुधनकुमार पौडेल वताउनुहुन्छ । यो शोधप्रबन्धले कौटिल्य र उनको भन्सार प्रशासनको अवधारणाको पूर्णतः शल्यक्रिया गरेको म ठान्दछु उहां भन्नुहुन्छ । भन्सार विभागका पूर्व महानिर्देशक, डा. मुक्तिनारायण पौडेल दामोदर रेग्मीले नेपालको वर्तमान भन्सार प्रशासनको प्रवृत्तिलाई कौटिल्यकालीन भन्सार प्रशासनको सन्दर्भसँग तुलना गर्दै एउटा नवीन विषयलाई बहसमा ल्याइदिनुभएको छ । यसले नेपालको भन्सार प्रशासनमा सुधारका प्रयासहरूको पुनरावलोकन गर्ने अवसरसमेत जुटाइदिएको छ । यसर्थ यो पुस्तक शोधकार्यमा रुचि राख्ने सबैका लागि र भन्सार प्रशासनको विकासक्रमका बारेमा जानकारी लिन चाहने सबैका लागि उपयोगी हुने कुरा वताउनुहुन्छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका विभागीयप्रमुख, प्रा.डा. शिवराज अधिकारीका अनुसार दृढता, आत्मविश्वास र सिक्ने भोकले गर्दा आफ्ना कार्यक्षेत्रगत प्रतिकूलता र सीमितता हुँदाहुँदै पनि दामोदर रेग्मीले आफ्नो शोधकार्यमा क्षमताको प्रयोगमा न्याय गर्नुभएको वताउनुहुन्छ । कौटिल्यकाल र विद्यमान अवस्था बीचको प्रतितथ्यात्मक अवस्था कसरी सिर्जना गर्ने भन्नेबारेमा निकै ठूलो योगदान दिनु भएको छ । यसै कारण उहाँको शोधप्रबन्ध विद्यावारिधि उपाधिका लागि ग्राह्य त बन्यो नै, यसका साथै यस अध्ययन क्षेत्रमा एउटा दर्बिलो इट्टा थप्नु भएकोमा धन्यवादको पात्र हुनुहुन्छ । आगामी शोधार्थीहरूका लागि पनि उहाँको यो शोधकार्य मार्गदर्शक बन्न पुगेको छ । नेपालको वित्त व्यवस्थापन र सार्वजनिक प्रशासनको क्षेत्रमा लामो अनुभव एवम् विशेष दखल राख्नुभएका श्री दामोदर रेग्मीले ‘कौटिल्यकालीन भन्सार प्रशासनका सन्दर्भमा नेपालमा भन्सार प्रशासन सुधारको प्रभावकारिता’ शीर्षकमा अर्थशास्त्र विषयमा नेपालको राजस्व प्रशासनलाई प्राचीन परिवेशसँग तुलना गरिएको यो शोधकार्य आफैमा एउटा महत्वपूर्ण प्रयास हो भन्ने कुरापाटन क्याम्पस अर्थशास्त्र विभागका विभागीय प्रमुख प्रा. डा. विष्णुप्रसाद शर्मा वताउनुहुन्छ । उहाका अनुसार रेग्मीको यो कार्यले नेपालको राजस्व प्रशासनका अवसर र चुनौतीका विविध आयामहरूबारे विस्तारपूर्वक चर्चा गरेको छ । यसबाट हाम्रो राजस्व प्रशासन सुधारका नयाँ मार्गहरू पहिचान गर्न थप अवसर सिर्जना भएका छन् । उहाँको शोध विशेषज्ञको हैसियतले उहाँले शोधकार्यमा देखाउनु भएको मेहनत, लगन र अनुशासन पक्कै पनि सबैका लागि अनुकरणीय रहनेछ । रत्न राज्यलक्ष्मी क्याम्पसका अर्थशास्त्र विभागका डा. दिलनाथ दंगाल नेपालको राजस्व प्रशासनलाई प्राचीन परिवेशसँग तुलना गरिएको रेग्मीको यो शोधकार्य आफैमा एउटा महत्वपूर्ण प्रयास हो, रेग्मीको यो शोधले नेपालको राजस्व प्रशासनका अवसर र चुनौतीका विविध आयामहरूबारे विस्तारपूर्वक चर्चा गरेको छ ,यसबाट हाम्रो राजस्व प्रशासन सुधारका नयाँ मार्गहरू पहिचान गर्न थप अवसर सिर्जना भएको कुरा वताउनु हुन्छ । सहृदयी डा. दामोदर रेग्मी ज्यूद्वारा ‘कौटिल्यको आलोकमा नेपाल भन्सार प्रशासन’ पुस्तक प्रकाशन गर्दै हुनु हुन्छ भन्ने कुरा वहाँसँगको फोन सम्पर्कबाट जानकारी पाएपछि औधि खुसी लाग्यो । कौटिल्यलाई अलग राखेर इतिहास पुरा हुन सक्दैन, अपुरो हुने गर्दछ । कौटिल्य अर्थशास्त्र पूर्वीय साहित्यमा महत्वपूर्ण आयाम हो । मौर्य साम्राज्यदेखि पछिसम्म राज्यको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको देखिन्छ । पृथ्वीनारायण शाहले आप्mनो राज्य सञ्चालन गर्दा कौटिल्यका दर्शनहरुलाई अवलम्वन गरेको उदाहरणहरु इतिहासमा पाइन्छन् । विश्व अर्थ राजनीतिमा जति फैलावट हुँदै गयो, आ–आफ्नो मौलिक अर्थतन्त्र ओझेलमा पर्दै गयो । विश्व दुई खेमामा बाँडिएपछि पुँजीवादी अर्थतन्त्र, समाजवादी अर्थतन्त्र, नियन्त्रित अर्थतन्त्र, पुँजीवादी अर्थतन्त्रको विकसित रुप ‘लेजिस्फेर अर्थतन्त्र’ आदि विभिन्न ढाँचाका अर्थतन्त्रहरुको प्रयोगले विभिन्न देशको अर्थतन्त्रलाई गाँज्न थाल्यो । मिक्स्–इकोनोमी (मिश्रित अर्थ व्यवस्थाको) धेरै विकासन्मुख देशहरुले अवलम्वन गरे । अहिले नेपालले पनि यस मिश्रित अर्थनीतिको अवलम्वन गरेको छ । अहिले देशको समृद्धिमा यस अर्थनीतिले के ? कति ? सघाएको छ भन्ने सवाल उठिरहेको बेला डा. दामोदर रेग्मीज्यूले पुस्तक ‘कौटिल्यको आलोकमा नेपाल भन्सार प्रशासन’ राष्ट्रको सामु पस्किनु भएको छ । कौटिल्य अर्थशास्त्रमा व्याख्या गरिएका राज्यको बजेटमा नियमन, लेखाको लेखापरीक्षण, बन्दव्यापारको सिद्धान्त, परराष्ट्रनीति आदिलाई जसरी कौटिल्य अर्थशास्त्रमा गरिएको छ, ती सवालहरु अहिलेको परिपेक्षमा उपयोगी देखिन्छ । हाम्रो अर्थनीतिमा कौटिल्य अर्थशास्त्रको केही राम्रा कुराहरु अहिलेको सन्दर्भसँग मेलखाने आर्थिक पाटोलाई नेपाल भन्सार प्रशासनको सवालमा जोडन सकियो भने नयाँ ढङ्गले देशको आर्थिक विकास गर्न सकिन्छ भन्ने जुन सोच बोकेर पुस्तक ‘कौटिल्यको आलोकमा नेपाल भन्सार प्रशासन’ प्रकाशन हुन गएको छ । त्यो राष्ट्रको अर्थतन्त्रलाई उपयोगी हुन्छ र यसको खाँचो पनि देखिन्छ । रेग्मी ज्यूको पुस्तक ‘कौटिल्यको आलोकमा नेपाल भन्सार प्रशासन’ ले नेपालको अर्थतन्त्रमा नीति निर्माण कार्यमा निश्चय नै सघाउ पु¥याउने छ पाल्पा तानसेनका निर्मल श्रेष्ठ को ठम्याइरहेको छ । नेपाल सरकारका सचिव डा. दामोदर रेग्मीद्वारा लेखिएको यो पुस्तकमा नेपालको भन्सार प्रशासन, पूर्वीय दर्शनसंग यसको अन्तरसम्बन्ध र नेपालमा सुधारका मुद्दाहरु वारे अति सूक्ष्म तवरले विश्लेषण गरिएको छ, आफ्नो नियमित प्रशासनिक कर्मका अतिरिक्त गहिरो अध्ययन , अनुसन्धान र लेखनमा निरन्तर समर्पित रेग्मीको यो पुस्तक आफैंमा खोजमुलक, ऐतिहासिक र सङ्ग्रहणीय दस्तावेजको रुपमा रहेको छ राष्ट्यि युवा परिषदका उपाध्यक्ष, सुरेन्द्र बस्नेतको ठम्याइ रहेको छ । दामोदर रेग्मीले नेपालको वर्तमान भन्सार प्रशासनको प्रवृत्तिलाई कौटिल्यकालीन भन्सार प्रशासनको सन्दर्भसँग तुलना गर्दै एउटा नवीन विषयलाई बहसमा ल्याइदिनुभएको छ, यसले नेपालको भन्सार प्रशासनमा सुधारका प्रयासहरूको पुनरावलोकन गर्ने अवसरसमेत जुटाइदिएको छ , नेपालको विकासका संभावनाहरुलाई उजागर गर्न कौटिल्यका अवधारणाहरु सहायकसिध्द हुने र यसका लागि रेग्मीको यो अनुसन्धान महत्वपूर्ण दस्स्ताबेज बन्न पुगेको रामहरि शाही समुन्द्र सि एफ आइ डि, पाल्पाका अध्यक्ष, पशुपति सैंजू बताउनुहुन्छ । पुस्तकवारे चर्चा गर्दै नगेन्द्रराज रेग्मी भन्नुहुन्छ वास्तवमा विद्यावारिधि भनेको कुनै लरतरो विषय होइन रहेछ भन्ने कुरा उहाँले भोगेका मानसिक तनावहरुबाट अवगत गर्न सकिन्छ । तर ती तनाव, पीडाहरु जब उपाधि प्राप्तिको शिखर चडिन्छ तब सबै भुलिन्छ । चलचित्र हेरेझैं सविस्तार वर्णन गरेर उहाँले यी सब कुराहरु छर्लङ्ग पारिदिनु भएको छ, जुन रोमाञ्चक त छ नै यो कार्यमा संलग्न हुनु भएका र हुन चाहने सबैको लागि सहयोगी हुनेछ । यो कृतिले नेपाली अर्थशास्त्रको व्यख्या विश्लेषणको क्षेत्रमा ठूलै अभावको पूर्ति गर्नेछ भन्ने मलाई लागेको छ । विषयको अन्तरवस्तु प्रति न्याय गर्दै सरल प्रस्तुतिले सवै खालका पाठकले बुझ्न सक्ने शोधप्रबन्ध तयार भएको मलाई लाग्दछ । पुस्तकवारे चर्चा गर्दै अर्का पाठक शरण कुमार अर्याल भन्नुहुन्छ कौटिल्यको आलोकमा नेपालको भन्सार नामक पुस्तक कौटिल्यकालीन भन्सार ब्यवस्था बुझ्न मात्र होइन, देशको बिकासमा अर्थनीतिको महत्व बुझ्न पनि कोशेढुंगा हुन्छ भन्ने विश्वास छ। डाक्टर दामोदर रेग्मीको निजी जीवन जस्तै लेखनशैली पनि सरल र सहज रहेको छ। प्रत्यक्ष भेटघाटमा देखिने ब्यक्तित्व पुस्तक मा पनि पाउँदा खुसी र गर्व लागेको छ। नेपाल सरकार को सचिव जस्तो गरिमामय पदमा रहेर पनि अध्ययन र लेखनमा पनि उत्तिकै समय दिएर यस्ता पुस्तक प्रकाशन गर्नु युवा पुस्ताका लागि मार्गनिर्देश हुन्छ। एक पटक पढ्न थाले पछि नसकेसम्म पढिरहुँ जस्तो लाग्ने यस्ता पुस्तक आगामी दिनमा पनि पढ्न पाइरखियोस । डा. दामोदर रेग्मीको शोधप्रबन्ध कौटिल्यकालीन भन्सार प्रशासनका सन्दर्भमा नेपालमा प्रशासन सुधारको प्रभावकारिता अनुसन्धानको क्षेत्रमा एउटा नवीन, उदाहरणीय र सफल अनुसन्धान हो । सेन माध्यमिक विद्यालयको पूर्व विद्यार्थीको यो सफलता प्रति विद्यालय परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।सफलता प्रति विद्यालय परिवार सगौरव हार्दिक बधाई सहित भविष्यमा थप सफलताको उचाइ चुम्न शुभकामना व्यक्त गर्दछ सेन माध्यमिक विद्यालय प्रधानाध्यापक भीमलाल बस्याल तथा पूर्व शिक्षक चित्रवलीराम सुवाल वताउनुहुन्छ । लेखक डा. दामोदर रेग्मी विद्यावारिधि उपाधि प्राप्त गरिसकेपछि यसलाई पुस्तकको पनि रुप दिन उपयुक्त हुने सुझाव प्राप्त भएको, अनुसन्धान केन्द्रमा यस विषय संग सम्बद्ध शोधकर्ताहरुले यस शोधपत्रको खोजी गरिरहेको सन्दर्भमा यसको पहुँचलाई विस्तार गर्ने उद्देश्यका साथ यसलाई यस आकारमा यहाँहरूसमक्ष प्रस्तुत गर्ने जमर्को गरेको वताउंछन् । उनी भन्छन् निरन्तरको सकारात्मक र इमान्दारीपूर्ण प्रयासबाट सार्थक परिणाम निस्कन्छ भन्ने अनुभवलाई बाँंड्ने सन्दर्भमा पनि यो पुस्तक प्रकाशन हुन पुगेको हो, यस पुस्तकको अध्ययनले यसै प्रकृतिका वा अन्य कुनै विषयहरूमा शोधकार्यमा संलग्न हुनु भएका महानुभावहरूलाई कुनै न कुनै रूपमा सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु । उनी थप्छन् शोधकार्य महिलाका लागि प्रसवपीडाजस्तो, हिमाल आरोहीका लागि हिमाल आरोहणको कष्टकर यात्राजस्तो, किसानका लागि असार १५ को रोपाइँजस्तो वा अन्य यस्तै यस्तै अनौठो घटनाक्रम रहेछ । यसका प्रक्रियाहरू विधिसम्मत र समयसम्मत हुनुपर्ने, विशिष्ट मान्यताहरू पूरा गर्नुपर्ने जस्ता पक्षहरू अति कठिन विषय रहेछन् । तर यो कठिन प्रक्रियाको परिणाम भने सुखद हुँदो रहेछ । काम कठिन छ र त चुनौतीपूर्ण छ । कठिन छ र त रमाइलो छ । विषयवस्तुका सात अध्याय गरि कूल दश खण्ड र ३६८ पृष्ठमा विभाजित यस पुस्तकमा यसको पहिलो अध्यायमा भन्सार प्रशासन र कौटिलीय अर्थशास्त्रको परिचय दिइएको छ । दोस्रो अध्यायमा पूर्वकार्यको समीक्षा अर्थात् यस शोधसँग सम्बन्धित पूर्वाध्ययनहरूको विमर्श प्रस्तुत गरिएको छ । तेस्रो अध्यायमा शोधविधि रहेको छ भने अध्याय चारमा कौटिल्यकालीन र नेपालको वर्तमान भन्सार प्रशासनका अवधारणाहरू बीचको सामञ्जस्यको चर्चा छ । यसैगरी अध्याय पाँचमा कौटिल्यकालीन भन्सार अवधारणाहरूको नेपालको भन्सार सुधारका विधि र प्रक्रियाहरूसँग रहेको सामञ्जस्यको चर्चा छ । अध्याय छमा नेपालको भन्सार सुधारको प्रभावकारिताको वर्तमान अवस्थाको समीक्षा गरिएको छ भने अध्याय सातमा सारांश, निष्कर्ष र सुझावहरू प्रस्तुत गरिएका छन् । यसरी यो शोधप्रबन्धले कौटिल्यकालीन भन्सार प्रशासन र वर्तमान भन्सार प्रशासनबीचका समानता र भिन्नताको चर्चा गरेकोछ । प्यासिफिक पव्लिकेसन प्रा लि को प्रकाशन रहेको यो पुस्तक सवै प्रमुख पुस्तक पसलहरुमा उपलब्ध हुने पव्लिकेशनका प्रमुख ओम प्रकाश खरेल वताउछन् । ( कुराकानी र पुस्तक अध्ययनमा आधारित)
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update