Erani Mahal
गुल्मीमा शिलन्यास भएका अस्पतालको अवस्था विजोग
kaligandaki-hospital-scaled
गुल्मी - तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका तीन सय ९६ स्थानीय तहहरुमा एकै दिन अस्पतालहरुको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा शिलन्यास भएका अस्पतालको अवस्था विजोग छ । २०७७ साल मङसिर १५ मा तामझाम र हतार हतारमा शिलन्यास गरीएका १५ शैयाका अस्पतालको अवस्था दयनीय छन् । अस्पतालको शिलन्यास गर्न केन्द्रिय मन्त्री, पुर्व मन्त्री, प्रदेश स्तरका मन्त्री र प्रदेश सभा सदस्यहरुले गाउँ–गाउँमा पुगेर एकै दिन दुई तीन वटा अस्पतालको शिलन्यास गरे । शिलन्यास भएको झण्डै २० महिना पुग्दा पनि थुप्रै स्थानीय तहकामा अस्पताल निर्माणको कामले गति लिन सकेको छैन् । शिलन्यासमै सीमित छत्रकोट छत्रकोट गाउँपालिकाको १५ शैयाको अस्पताल लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले अस्पतालको शिलन्यास गर्नुभयो । वडा नं ४ श्रृङ्गामा अस्पतालको शिलन्यास गरेको २० महिना पुग्न लाग्दा समेत अस्पताल बन्नेको टुङ्गो नै छैन् । शिलन्यास गरिएको जग्गा भवन मापदण्ड अनुसार नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिनुभयाे । शिलन्यास गरिएको जग्गाको करिव तीन सय मिटर पर जग्गाको ब्यबस्थापन भएकाले अध्यक्ष ज्यू अहिले फाइल बोकेर डिपीआरका लागि केन्द्रिय स्तरका नेता र संघीय मन्त्रालयमा धाएको पन्थीले जानकारी दिनुभयाे । मालिकामा जग्गा बिवाद मालिका गाउँपालिका वडा नं ४ अर्खबाङ्गमा पूर्व मन्त्री गोकर्णराज बिष्टले तामझामका साथ अस्पतालको शिलन्यास गरे । उक्त शिलन्यास गरिएको अस्पताल शिलन्यासमै मात्र सीमित भएको छ । शिलन्यास गरिएको जग्गामा अस्पताल निर्माण कार्य हुन नसक्ने भएका र विभिन्न स्थानमा लिइएका जग्गाहरुमा विवाद भएका कारण अस्पताल निर्माणको कार्य हुन नसकेको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिनुभयाे । उक्त अस्पताल निर्माणका लागि केन्द्रसंग समन्वय गर्दा पुुन : टेन्डर गर्नुपर्ने भनिएकाले के गर्ने भन्ने बारेमा जतिसक्दो छिटो निर्णय लिइने उहाँको भनाई छ । पहिलेको टेन्डरमा ११ करोड ६७ लाखको लागतमा खड्का–सगुन जेभीले फिल्ड निर्माणको जिम्मा पाएको थियो । कालीगण्डकीमा बल्ल सुरु तत्कालिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बाजागाजा र तामझामका साथ शिलन्यास गरेको अस्पतालमा अहिले पिल्लर राख्ने काम सुरु भएको छ । गाउँपालिकाको वडा नम्वर तीन कनौटामा करिव साढे १२ करोडको लागतका खिम्ती–श्रेष्ठ–अन्जना जेभिले अस्पताल निमार्णको समझौता गरेको छ । तर अहिले सो अस्पतालको काम भर्खर मात्र सुरु भएको छ । सो अस्पतालको शिलन्यास गरेलगत्तै मन्त्री ज्ञवाली प्रभुको हेली मार्फत पोखरा हुँदै मन्त्री परिषदको बैठकमा सामेल हुन हतारमा काठमाडौँ फर्किएका थिए । इस्मा गाउँपालिका ४ दोहली स्थित गुरुङगाडेमा १५ शैयाको अस्पताल निर्माणको काम भइरहेको छ । १० करोड ८५ लाखमा सुनिल समिर निर्माण सेवा प्रालिले अहिले अस्पतालको फिल्ड सम्याउने काम सकिएको गाउँपालिकाका अध्यक्ष भगतसिंह खडकाले जानकारी दिनुभयाे । नयाँ डिजाइनको अस्पतालका लागि स्विकृत लिनुपर्ने भएकाले प्राविधिक काठमाडौं गएको र स्विकृत पश्चात दु्रत गतिमा काम अगाडि बढ्ने उहाँले बताउनुभयाे । सत्यवती गाउँपालिकामा १५ शैयाको अस्पताल वडा नं ६ जुहांङ्गमा निर्माण फाउन्डेसनको कार्य सकिएको र पिल्लर राख्ने काम पनि सकिएको पालिकाका इन्जिनियर रमेश शाहीले जानकारी दिनुभयाे । अस्पताल निर्माणको कार्य हाल त्रिव गतिमा अगाडि बढेको भन्दै हाल सम्म करिव ३५ प्रतिशत काम सम्पन्न भएको उनको दाबी छ । १५ करोडको लागतमा आशिष एगेश्वर जेभी काठमाण्डौले निर्माण सेवाले निर्माण कार्यको जिम्मा पाएको छ । मदाने गाउँपालिकामा वडा नं ६ पुर्कोटदहमा अस्पताल निर्माणको काम भइरहेको छ । हिमदुम–एसी निर्माण कम्पनीले १२ करोड ४८ लाखमा अस्पताल निर्माणको सम्झौता गरेको छ । हाल आएर पहिलो तलाको ढलानको कार्य हुँने क्रममा रहेको गाउँपालिकाकी उपाध्यक्ष सरिता खडकाले जानकारी दिनुभयाे । धुर्कोटको घडेरीमा पहिरो धुर्कोट गाउँपालिको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको वेसमा (घडेरी )पहिरो आएका कारण निर्माणको कार्य अगाडि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । मन्त्रालयमा डिपिआर परिवर्तनका लागि पत्र लेखी पठाएकाले मन्त्रालबाट आउने पत्रको प्रतिक्षामा रहेको पोखरेलको भनाई छ । पूर्वमन्त्री समेत रहनुभएका गोकर्णराज बिष्टले शिलन्साय गरेको अस्पताल निर्माणको जिम्मा रविना–अर्जुन–न्यु लिजा जेभीले १३ करोड बढिको लागतमा जिम्मा पाएको थियो । त्यस्तै रुरु क्षेत्र गाउँपालिकामा १५ शैयाको अस्पताल वडा नं १ को रातामाटा निर्माण भइरहेको छ । कटिङ गरेको माटो राख्ने ठाउँका अभावका कारण पहिले समस्या भएको र त्यसको पनि ब्यबस्था भएकाले निर्माणको कार्य अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयाे । प्रकृति–पिटिआर–अधिकारी–राजेश्वरी जेभी सन्धिखर्कले १४ करोड ४२ लाख ८२ हजार ६ ५९ रुपियाँको लागतमा अस्पताल निर्माणको जिम्मा पाएको छ । तीन स्थानीय तहमा निर्माणको आशा जिल्लाका तीन पालिकामा भने अस्पताल निर्माणका कार्यले गति लिएको पाइएको छ । गुल्मीदरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको अस्पताल निर्माणमा निर्माण व्यावसायीको सक्रियता देखिएको छ । गुल्मी दरवार गाउँपालिकाको वडा नं ३ को झाँक्री डाँडामा १५ शैयाको अस्पताल निर्माण भइरहेको छ । बिकोइ–अर्जुन–न्यू लिजा जेभीले १२ करोड ९४ लाखमा अस्पताल निर्माणको सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिनुभयाे । अस्पतालको तेस्रो तल्ला ढलान भएको छ । अस्पताल निर्माणको भौति प्रगति र वित्तिय प्रगति करिब ५५ प्रतिशत भएको पाण्डेले जानकारी दिए । मुसिकोट नगरपालिका वडा नं ७ मा १५ शैयाको अस्पताल निर्माणको काम भइरहेको छ । खिम्ती–श्रेष्ठ–कालीगण्डकी जेभीले ११ करोड १० लाख २६ हजार १०८ रुपियाँ लागतमा अस्पताल निर्माणको काम गरिरहेको छ । अस्पताल निर्माणको पहिलो तला ढलानको कार्य सकिएको स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिनुभयाे । चन्द्रकोट गाउँपालिका वडा नम्वर ४ शान्तिपुरमा अस्पताल निर्माण हुँदैछ । कुल १३ करोड ६६ लाख ४४ हजार सात सय ३६ रुपियाँमा तुल्सीभक्त–अर्जुन बिल्डर्स जेभीले अस्पताल निर्माणको जिम्मा पाएको हो । अस्पतालको एक तला ढलान भएको र भौतिक प्रगति ३५ प्रतिशत भएको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयाे । अस्पतालमा स्टाफ क्वाटर र डाक्टर क्वाटर निर्माण भइसकेको ज्ञवालीले बताए
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update