Erani Mahal
भारतबाट दैनिक भित्रिदै काेराेनाका संक्रमितहरु, छैन नेपालमा सतर्कता !
sunauli_nGzywGs0hN
भारतबाट सुनौली नाका हुँदै नेपाल भित्रिनेहरुमध्ये दैनिक ८–१० जनामा कोरोनाभाइरस संक्रमण पाइने गरेको छ । नियमित परीक्षणका क्रममा फेला परेका संक्रमितमध्ये अधिकांश भारतीय रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन तथा भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताउनुभयाे । बेलहियास्थित हेल्थ डेस्कमा गरिएको परीक्षणमा मंगलबार ९ जना र बुधबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये दुई जना नेपाली रहेको र अन्य भारतीय नागरिक रहेको शाहले रातोपाटीलाई बताए । रुपन्देहीमा पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको छ । खासगरी सीमा क्षेत्रमा कोरोना संक्रमित पाइएका हुन् । अहिलेसम्म जिल्लाको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगर गरी २४ जनामा संक्रमण पुष्टि भएको शाहले बताउनुभयाे । उनीहरू सबै होम आइसोलेसनमा बसेका छन् । होल्डिङ सेन्टरको अभाव सीमा नाकामा एन्टीजेन विधिमार्फत कोरोना परीक्षण गरेपछि संक्रमितहरुलाई राख्न प्रयोग गर्नुपर्ने होल्डिङ सेन्टरको अभाव महसुस भइरहेको हेल्थ डेस्कका कर्मचारी बताउँछन् । होल्डिङ सेन्टर नहुँदा संक्रमितहरुलाई होम आइसोलेसनमा बस्ने गरी घर पठाउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । यसरी घर पठाउँदा बाटोमै अन्यलाई संक्रमण सर्ने खतरा रहने भए पनि होल्डिङ सेन्टर नहुँदा अर्को विकल्प नभएको उनीहरु बताउँछन् । बुधबार नाकामा परीक्षण गरिएकामध्ये दुई नेपालीमा संक्रमण पाइएको थियो । चितवन र धरान घर भएका ती दुवैलाई होल्डिङ सेन्टर नहुँदा आफै सवारी व्यवस्थापन गरेर जाने गरी घर पठाइएको छ । संक्रमण पाइएका भारतीयलाई भने भारततिरै फर्काउने गरिएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले रुपन्देहीमा स्थानीय तहले कोरोना संक्रमण बढ्दै गएको परिस्थिति र संक्रमण न्यूनीकरण तथा रोकथामका लागि सामान्य चासो देखाए पनि ठोस प्रक्रिया अगाडि नबढेको बताउनुभयाे ।
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update