Erani Mahal
पानी परेपछि पाल्पाका पालिका केन्द्रसम्म पुग्नै सकस
DSC04007
पाल्पा–पक्की सडक नहुँदा वर्षातकाे समयमा पाल्पाको पालिकाको केन्द्रसम्म पुग्नै सकस छ । जिल्ला सदरमुकाम तानसेनदेखि स्थानीय तहको केन्द्रसम्म जोड्ने सडक पक्की बन्न नसक्दा वर्षात्को समयमा यात्रा गर्न सकस भएको हो । प्रदेश सरकारले पालिकाको केन्द्रसम्म पुग्ने सडक निर्माणमा प्राथमिकता दिन सकेको छैन । सडक पक्की नहुँदा वर्षात्को समयमा पालिकाको केन्द्रसम्म पुग्न कठिन रहेको यात्रुहरूको भनाई छ । जिल्लाको रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको केन्द्रसम्म पुग्न तत्कालिन जिविसले बनाएको ओटासिल सडक थियो । तर हाल उक्त सडकलाई बिस्तार गर्ने नाममा भत्काएपछि कच्चीजस्तै बनेको मुझुङ्का स्थानीय बासिन्दा रामबहादुर कार्कीले गुनासो गर्नुभयो । सडक भत्काएपछि लामो समयसम्म पक्की बनाउन कसैले ध्यान नदिँदा हिउँदमा धुँलो र वर्षात्मा हिलाम्य हुने गरेको उहाँले बताउनुभयो । वर्षात्को समयमा एम्बुलेसन्ससम्म पनि सञ्चालन हुन सक्ने अवस्था छैन उहाँले भन्नुभयो । सदरमुकाम तानसेनदेखि सबैभन्दा टाढा ७५ किलोमिटर पूर्वमा रहेको निस्दी गाउँपालिकासम्म पुग्न १० किलोमिटर सडक पक्की बनाउन बाँकी छ । सडक पक्की नहुँदा वर्षात्को समयमा सवारी आवागमन समेत बन्द हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ । पूर्वखोला गाउँपालिकाको केन्द्र बिर्ताबजार पुग्न रामपुर आर्यभाङ्ज्याङ् सडक प्रयोग गर्नुपर्छ । यहाँ पुग्न १३ किलोमिटर शाखा सडक पक्की बन्न सकेको छैन । लुम्विनी प्रदेश सरकारले १८ करोड बढी लगानी गरेर सडक पक्की बनाउन टेण्डर गरेको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो । जिल्लाको माथागढी गाउँपालिका पुग्न बाँसटारी झडेवा सडक प्रयोग हुन्छ । यो सडकको बाँसटारीदेखि देवगीरसम्म पक्की भएपनि पालिकाको केन्द्र झडेवासम्म पुग्न साढे ६ किलोमिटर सडक कच्ची छ । सडक पक्की नहुँदा वर्षात्को समयमा पालिकासम्म पुग्न अप्ठेरो हुने गरेको माथागढी–४, झडेवाका स्थानीय बासिन्दा चन्द्रदेव पन्थीले बताउनुभयो । स्थानीय तह बनेपछि केही वर्ष सडक बिस्तार र नाली निर्माणको काम भएपछि पछिल्लो दुई वर्षयता सडक स्तरउन्नतिको काम हुन सकेको छैन । रम्भा गाउँपालिकाको केन्द्र खोकखोला सम्म पुग्ने डेढ किलोमिटर सडक समेत कच्ची छ । प्रदेश सरकारले प्राथमिकताका साथ पालिकाको केन्द्रसम्म पुग्ने सडक निर्माणमा ध्यान दिन नसक्दा यात्रु वर्षात्को समयमा सडक हिलाम्य, पहिरोको त्राससँगै यात्रा गर्न बाध्य छन् । सदरमुकाम तानसेनदेखि रामपुर नगरपालिकासम्म पुग्नका लागि प्रयोग हुने कालीगण्डकी कोरिडोरको ६५ किलोमिटर सडक पक्की बनेको छ । कालीगण्डकी कोरिडोरले रामपुरसम्म पुग्न सहज छ । तिनाउ गाउँपालिकाको केन्द्र पुग्न भने पक्की पुल बनेपछि सहज छ । बगनासकाली गाउँपालिकाको केन्द्र पनि सिद्धार्थ राजमार्गसँगै जोडिएकाले त्यहाँसम्म पुग्न सहज छ ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update