Erani Mahal
निस्दीलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
292406171_1069904663626710_4450205505070120630_n
धनबहादुर ठाडा, पाल्पा - निस्दी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको छ । राज्यले तोकेको उमेर समुहमा सबै बालबालिकाले समयमा नै खोप पाएकोले पालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो । पालिकाले संकलन गरेको तथ्यांक अनुसार १६ देखि २३ महिना सम्मका बालबालिकाहरुले पूर्ण मात्रा खोप लगाएसँगै स्वास्थ्य कार्यालय पाल्पाले शतप्रतिशत उपलब्धि लिन सकेकोमा पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको हो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल र स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरीले निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुलाई पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र प्रदान गर्नु भएको हो । निस्दी खोप समन्वय समितिका अध्यक्ष एवं पालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको सभामा जिल्ला खोप समन्वय समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख टंक प्रसाद खनालले बाँच्न पाउने अधिकार सुनिश्चित गराउने खोपको महत्त्व आफैमा अपार रहेको बताउनुभएको छ । साथै प्रमुख खनालले रोग प्रतिरोधात्मक क्षमताको आधार खोप भएकोमा स्वास्थ्यका लागि आनीबानी र बिचारमा पनि यसले सकारात्मक परिवर्तन ल्याउने बताउनुभएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरेले बाल मृत्युदर घटदै शिशु र बच्चा बाँच्दै आएकोले कार्यक्रमको दिगोपनामा जोड दिनुपर्ने बताउनुभएको छ । पालिका अध्यक्ष सारुले खोपलाई निरन्तरता दिन खटिने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद प्रकट गर्नुहुँदै निस्दीमा स्वास्थ्य शाखाले गरेका राम्रो कामको प्रशंसा गर्नुभएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरीले स्वास्थ्यका कर्मचारीको नियमित निगरानी , समयमै खोप र डाटाले यो सम्भव भएको बताउनुभएको छ । सरकारले हाल १२ खोप दिदै आएकोमा आगामी बर्षबाट टाईफाईड विरुद्धको खोप पनि दिने डाक्टर गिरीले जानकारी दिनुभएको छ । हाल निस्दीमा स्वास्थ्य चौकी ७ वटा , गाउँघर क्लिनिक २१ वटा र खोपकेन्द्र २७ वटा रहेको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताउनुभएको छ ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update