Erani Mahal
लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य, कुन जिल्लाबाट कति ?
bidesh
लुम्बिनी प्रदेशमा रोजगारका लागि पछिल्लो एक महिनाको अवधिमै १२ हजार बढी विदेशिएका छन् । रोजगारका लागि पुनः विदेशीनेभन्दा पहिलो पटक विदेश जानेहरुको संख्या बढी देखिएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार लुम्बिनी प्रदशका १२ जिल्ला, रुकुम पश्चिम र नवलपरासी पूर्वसहितकका १४ जिल्लाबाट जेष्ठ महिनाभित्र मात्रै १२ हजार २ सय ९२ जना रोजगारका लागि विदेशिएका छन् । पछिल्लो एक महिनाको मात्रै तथ्याङ्कलाई आधार मान्ने हो भने दैनिक ४ सय बढी युवाहरु लुम्बिनी प्रदेशबाट रोजगारका लागि बिदेशिनु पर्ने बाध्यता रहेको छ । विदेशिएका मध्ये ६ हजार ४ सय ९९ जना पहिलो पटक रोजगारका लागि विदेशिएका हुन् । जस मध्ये ६ हजार १ सय ९ पुरुष र ३ सय ९० महिला रहेका छन् । यसैगरी पुनः विदेशिनेको संख्या ५ हजार ७ सय ९३ रहेको छ । जसमध्ये ५ हजार ५ सय ८५ पुरुष तथा २ सय ९ महिलाको संख्या रहेका छन् । २ वर्षको कोरोना महामारीपछि विदेशीने संख्या बढ्दै गएको विभागको तथ्याङ्कमा उल्लेख छ । लुम्बिनी प्रदेशका जिल्लाहरु मध्ये रोजगारीका लागि विदेशीनेको संख्या सबैभन्दा बढी रुपन्देहीमा देखिएको छ । रुपन्देहीबाट गत जेष्ठ महिना भित्र १ हजार ८ सय ३३ पुरुष तथा १ सय ९ महिला गरी १ हजार ९ सय ४२ जना विदेशिएका छन् । यसैगरी दोस्रो स्थानमा रहेको कपिलवस्तुबाट १ हजार ४ सय ५३ जना विदेशिएका छन् । जसमध्ये २९ जना महिलासमेत रहेका छन् । रोजगारका लागि एक महिनाको अवधिमा नवलपरासी पूर्व र नवलपरासी पश्चिमबाट १ हजार ९ सय ४२, पाल्पा ८ सय ८८, गुल्मी ९ सय ४६, दाङ १ हजार ३ सय ८५, रुकुम पूर्व र रुकुम पश्चिमबाट ४ सय ४२ जना विदेशिएका छन् । यसैगरी बर्दियामा ५ सय ९१, बाँकेमा ७ सय ४२, अर्घाखाँचीमा ५ सय ८१ र प्यूठानमा ४ सय ८१ जना रोजगकारका लागि देश छोडेका छन् ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update