Erani Mahal
चिटिक्क बन्दै तानसेनको टुंडिखेल
tudikhel sundarikaran
पाल्पा – तानसेन नगरपालिकाको प्राङ्गढ अगाडिकाे टुंडिखेल चिटिक्क बन्दै गएको छ । नगरपालिकाकाे प्राङ्गढ सुधार गर्न टुंडिखेल सुधार योजना सम्पन्न हुन थालेपछि टुंडिखेल चिटिक्क बनेको हो । तानसेन नगरपालिकाले आव २०७६/०७७ मा टुंडिखेल मैदान सुधार सहित जेष्ठ नागरिक र बाल बगैँचा बनाउने उद्देश्यका साथ काम थालेको थियो । दुई वर्षभित्र काम सक्ने गरेर टुंडिखेलको सुधार गर्न तीन करोड ८२ लाख ९४ हजार रुपियाँमा टेण्डर भएको थियो । तानसेन नगरपालिकाभित्रको मुख्य भूभाग टुंडिखेलमा फुलबल मैदान सहित यहाँ आउने जेष्ठ नागरिक, बालबालिका तथा अन्य मानिसलाई बिश्राम गर्न मिल्ने गरी यसको टुंडिखेल सुधार योजनाको काम सुरु भएको थियो । टुंडिखेलभित्र बाल बगैँचा, जेष्ठ नागरिक बगैँचा र फुटबल मैदान बनाउने गरी काम भइरहेको नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । टुंडिखेलको बीच भागमा मैदान, वरपर छेउमा बाल र जेष्ठ नागरिक बगैँचा तथा फुलबारी निर्माणले समग्र टुंडिखेलको सुन्दरता थपिन्छ उहाँले भन्नुभयो । टुंडिखेलको सुन्दरले तानसेनभित्र आउने पर्यटकलाई तानसेनमा घुम्न लायक स्थान छन् भन्ने सकारात्मक सन्देश दिने नगरपालिकाले जनाएको छ । हालसम्म यो योजनाको ८५ प्रतिशत काम भइसकेको छ । योजना अनुसार बस्तुभाउ भित्र छिर्न नसक्ने गरी रिटेनिङ् वाल, फलामका रेलिङ्, बाउण्डरी वाल, फूटपाथ बल्क, मिनि स्टेज समेत बनिसकेको छ । यी संरचना नगर कार्यपालिकाको परिसरभित्र बनेकाले यसले तानसेन नगरपालिकाको सुन्दरता थप्ने तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिनुभयो । टुंडिखेल सुधार योजना यो चालु आवको असार मसान्तसम्ममा सक्नुपर्ने भएपनि पुन म्याद थप भएको छ । टुंडिखेल निर्माणको ठेक्काको जिम्मा लिएको जयनेपाल इश्वर चन्द्र निर्माण सेवा प्रालिलाई पुनः असोज मसान्तसम्ममा काम सक्ने गरी म्याद थप गरिएको तानसेन नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update