Erani Mahal
पाल्पामा अधिकांश उम्मेद्वारले बुझाएनन निर्वाचनमा भएकाे खर्च
Nirbachan palpa1 (1)
पाल्पा - गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण बुझाउन उम्मेद्वारहरूले आनाकानी गरेका छन् । निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि पाल्पाका दश वटा स्थानीय तहमा उम्मेद्वार बनेका एक हजार ७२ जनामध्ये चार सय १३ जनाले मात्रै खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् । हालसम्म छ सय ५९ जनाले निर्वाचन सम्बन्धी खर्च विवरण निर्वाचन आयोगमा बुझाउन सकेका छैनन् । निर्वाचन सकिएको एक महिनाभित्र निर्वाचनका बेला उम्मेद्वारले गरेको खर्च विवरण बुझाउनुपर्ने निर्वाचन सम्बन्धी ऐनमा व्यवस्था रहेको छ । निर्वाचनका बेला उम्मेद्वारले आयोगले तोकेको खर्चको विवरण समयभित्र बुझाउन अधिकांशले आनाकानी गरेको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले बताउनुभयो । समयसीमाभित्र निर्वाचन सम्बन्धी खर्चको विवरण बुझाएका उम्मेद्वारको विवरण आयोगमा इन्टूी गर्ने काम भइरहेको अर्यालले बताउनुभयो । निर्वाचनमा पराजित भएका भन्दा निर्वाचनमा विजयी भएका अधिकांश उम्मेद्वारले निर्वाचनमा भएका खर्चको विवरण बुझाउन आनाकानी गरिरहेका छन् । जिल्ला निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी कल्पना पौडेलका अनुसार असार ७ गतेसम्ममा तानसेनका ७४ जना, रामपुरका १०८ जना, निस्दीका ३७ जना, पूर्वखोलाका ३१ जना उम्मेद्वारले निर्वाचनमा भएको खर्च विवरण बुझाएका छन् । यस्तै रम्भाको ८ जना, बगनासकालीका ७१ जना, रिब्दीकोटका ३७ जना र रैनादेवी छहराका ४७ जनाले असार ७ गतेसम्म निर्वाचनमा भएको खर्च विवरण बुझाएको पौडेलले बताउनुभयो । माथागढी र तिनाउका उम्मेद्वारले भने हालसम्म एक जनाले पनि विवरण बुझाउन नआएको उहाँको भनाई छ । समयभित्रै निर्वाचन सम्बन्धी खर्च विवरण नबुझाएका उम्मेद्वारलाई आयोगले ऐन अनुसार कारबाही गर्ने प्रावधान रहेको जिल्ला निर्वाचन अधिकारी अर्यालले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update