Erani Mahal
तानसेनकाे बतासेडाँडामा बन्याे 'खुल्ला नाच घर'
dddd
पाल्पा – तानसेनको बतासेडाँडामा ‘श्रीनगर सांस्कृतिक डबली’को निर्माण कार्य सकिएको छ । स्थानीय जाति, समुदायको मौलिक सांस्कृति प्रदर्शन गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सांस्कृतिक डबली (खुल्ला नाचघर) को निर्माण गरिएको हो । वि.स. २०७७ असार देखि सुरु भएको सांस्कृतिक डबली (खुल्ला नाच घर) निर्माण सम्झौँता भन्दा एक वर्ष ढिला गरी सकिएको हो । पर्यटन डिभिजन रुपन्देहीका प्रमुख मुक्तिराम पाण्डेयले डबली निर्माणको काम सकिएको बताउनुभयो । अब सांस्कृतिक डबली सञ्चालनका लागि कार्यविधि बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । लुम्विनी प्रदेश सरकारको लगानी छ करोड ८१ लाख रुपियाँ लगानीमा सांस्कृतिक डबली (खुल्ला नाचघर) निर्माणको काम सकिएको हो । सांस्कृतिक डबलीभित्र स्टेडियम, कफी हाउस, पार्किङ् स्थल, बाउण्ड्री, बस्ने स्थल, हरियाली बगैँचा निर्माण गरिएको छ । डबलीभित्र स्वास्थ्य जाँच केन्द्र, टिकट घर तथा सुरक्षा गार्ड बस्ने घरको निर्माण सकिएको छ । सांस्कृतिक डबलीभित्र बसेर पाँच सय जना मानिसहरूले विभिन्न जातजाति तथा भाषाभाषीको नाच तथा सांस्कृतिक प्रस्तुती अवलोकन गर्न सक्ने पर्यटन डिभिजन कार्यालयले जनाएको छ । जिल्लाभित्र भित्रिने आन्तरिक तथा बाह्य मुलुकका पर्यटकलाई लक्षित गरेर सांस्कृतिक डबलीको निर्माण गरिएको हो । डबली सञ्चालनले जिल्लाभित्र पर्यटक आकर्षित गर्न सहयोग पुग्ने तानसेन नगरपालिकाका बरिष्ठ अधिकृत दुर्गाबहादुर थापाले जानकारी दिनुभयो । सांस्कृतिक डबली सञ्चालनपछि स्वदेश तथा विदेशबाट पर्यटक आवागमनमा बृद्धि हुने र आन्तरिक रोजगारी समेत बढ्ने अपेक्षा गरिएको छ । सांस्कृतिक डबलीभित्र लोप हुँदै गएका जातजातिको नाचको प्रदर्शन गर्न सके परम्परागत संस्कृतिको संरक्षण हुने र त्यसबाट जिल्लाको पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने विस्वास गरिएको छ ।
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update