Erani Mahal
पाल्पामा बर्ड फ्लू रोग सर्न नदिन सतर्कता अपनाइने
res
पाल्पा – नेपालका केही भूभागमा बर्डफ्लु रोग फैलिरहेको अवस्थामा त्यसलाई पाल्पा जिल्लाभित्र सर्न नदिन आवश्यक सतर्कता अपनाइने भएको छ । जिल्लास्थित विभिन्न सरोकारवालाहरूको बैठक बसेर पशुपंक्षीमा बर्डफ्लू जस्ता रोग सर्न नदिन सरोकारवाला पक्षबाट सतर्कता र आवश्यक तयारी गर्ने निर्णय गरिएको हो । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा सोमबार बसेको बैठकले पशुपंक्षीजन्य रोग सर्न नदिन सीमा नाकामा आवश्यक सतर्कता अपनाउने निर्णय गरिएको छ । त्यसका लागि जिल्लाको सडक भएर ढुवानी हुने सीमा दोभान, राम्दी तथा रिडी क्षेत्रमा हुने पशुपंक्षी तथा दाना ढुवानीबारे सोधपुछ तथा निगरानी गर्ने निर्णय गरिएको छ । यस्तै जिल्लाका दश वटै पालिकाका कृषि तथा पशुशाखासँगको समन्वयमा पशुस्वास्थ्य नियन्त्रण कार्यक्रम र एकीकृत अवधारणा तयारी बैठक गर्ने निर्णय गरेको छ । पाल्पा जिल्लामा हाल छ वटा ह्याचरी कम्पनीहरूले कुखुराको चल्ला तथा अण्डा उत्पादन गर्दै आएका छन् । जिल्लाबाट स्याङ्जा, गुल्मी, अर्घाखाँची, बर्दिया, दाङ्, पोखरालगायतका स्थानमा कुखुराको चल्ला तथा मासुका लागि जिउँदो कुखुरा निर्यात हुँदै आएको छ । पाल्पामा अन्य जिल्लाबाट समेत चल्ला, दाना तथा अण्डा भित्रिने गरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख चन्द्रबहादुर रानाले जानकारी दिनुभयो । पाल्पा जिल्लासमेत पशुपंक्षी जन्य रोग सर्न सक्ने जोखिम क्षेत्र भएकाले आवश्यक तयारी र सतर्कता अपनाउनुपर्ने पशुसेवा प्राविधिक युवराज ज्ञवालीले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update