Erani Mahal
पाल्पा – पाल्पा जिल्लामा रहेका १० स्थानीय तहले बजेट सार्वजनिक गरेको छ । दुई नगरपालिकासहित ८ वटा गाउँपालिका रहेको पाल्पामा धेरैले नीति कार्यक्रम र बजेट एकै दिन पारित गरेका हुन् । जिल्लाको तानसेन नगरपालिकाले १ अर्ब ३९ करोड १८ लाख ९३ हजार ५४ रुपैयाँको बजेट ल्याएको छ । नगरप्रमुख सन्तोषलाल श्रेष्ठकाअनुसार तानसेनमा चालु खर्चतर्फ ७५ करोड ९३ लाख ७५ हजार ९ सय बयालीस र पुँजीगततर्फ ६३ करोड २५ लाख १७ हजार १ सय १२ विनियोजन गरिएको छ । बजेटमा ४५ दशमल ४४ प्रतिशत पुँजीगत छ । बाँकी चालु खर्चमा रहेको छ । त्यस्तै रामपुर नगरपालिकाले पनि ७२ करोड, ४७ लाख ९५ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । नगर उपप्रमुख बालकुमारी थापाले ७२ करोड ४७ लाख ९५ हजार रुपैंया रकम सार्वजनिक गर्नुभएको थियो । जसमा संघतर्फ ६० करोड ४४ लाख ६४ हजार, प्रदेशतर्फ ६ करोड ३ लाख ३१ हजार र आन्तरिक स्रोत ६ करोड आम्दानी गर्ने लक्ष्य रहेको छ । सार्वजनिक गरिएको बजेटमा वडागत बजेट ५ करोड २० लाख, सशर्त कार्यक्रम ३५ करोड ४४ लाख, क्षेत्रगत कार्यक्रममा ३१ करोड ८३ लाख ९५ हजार विनियोजन गरिएको छ । विषयगत कार्यक्रममध्ये आर्थिक विकासमा ४ करोड ४५ लाख ७५ हजार ३ सय, सामाजिक विकासमा ७ करोड ३२ लाख ३० हजार ८ सय ५०, पूर्वाधार विकासमा ११ करोड १४ लाख, ३८ हजार २ सय ५०, विपद व्यवस्थापनतर्फ ९५ लाख ५१ हजार ८ सय ५० र सुशासन तथा प्रशासनिक खर्चमा ७ करोड ९५ लाख ९८ हजार ७ सय ५० विनियोजन गरिएको छ । यस्तै निस्दी गाउँपालिकाले ६४ करोड ९८ लाख २५ हजारको बजेट ल्याएको छ । गाउँपालिका निस्दीमा विद्युतीकरण, भौतिक पूर्वाधार, कृषिमा बढी प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताउनुभयो । पूर्वखोला गाउँपालिकाले ४८ करोड बराबरको बजेट ल्याएको छ । उपाध्यक्ष भागीरथी भट्टराईले बजेट सभामार्फत ४८ करोड १७ लाख ७४ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । त्यस्तै रम्भा गाउँपालिकाले ५० करोड २९ लाख ८३ हजारको बजेट प्रस्तुत गरेको छ भने तिनाउ गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले ४८ करोड २० लाख ९१ हजारको बजेट सार्वजनिक गर्नुभएको छ । बगनासकाली गाउँपालिकाले ५० करोड १८ लाख २३ हजारको बजेट सार्वजनिक गरेको छ भने माथागढी गाउँपालिकाले पनि ५७ करोड ७४ लाख ९४ हजार बजेट ल्याएको छ । माथागढीमा अघिल्लो आर्थिक वर्षमा भन्दा ३ करोड बजेट कम प्रस्तुत भएको छ । संघीय अनुदान कम आएकाले कम बजेट आएको बताइएको छ । सो गाउँपालिकाले चालुतर्फ ३१ करोड ७६ लाख र पूँजीगत तर्फ २५ करोड ९८ लाख बजेट ल्याएको हो । त्यसैगरी रैनादेवी छहरामा गाउँपालिकाले पनि ६३ करोड ६९ लाख २५ हजारको बजेट ल्याएको छ । रैनादेवी छहराले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलाई नै प्राथमिकता दिएर बजेट ल्याएको छ । रिब्दीकोटकी गाउँपालिकाले ५१ करोड २४ लाख २५ हजार बराबरको बजेट ल्याएको छ ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update