Erani Mahal
सिद्धबाबा सडक खण्ड : यात्रुलाई सधैँ त्रास
Sidbaba Jam (6)
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्र पहिरोको जोखिम अत्यधिक रहेको क्षेत्र हो । वर्षा याममा यहाँ बारम्बार पहिरो खस्ने गर्दछ । यो मार्ग प्रयोगकर्ता वर्षाको समयमा पहिरोको त्रासका बीच यात्रा गर्नुपर्ने बाध्यतामा हुन्छन् । पहिरो खसेर कतिबेला सडक अवरुद्ध हुने हो भन्ने त्रासका बिच गाडी चलाउनु पर्ने अवस्था रहेको तानसेन–बुटवल रुटमा सञ्चालित सवारी चालक यम बहादुर रोकाले बताउनुभयो । वर्षा लागेपछि सिद्धबाबा क्षेत्र आउनासाथ निकै डर लाग्ने गरेको उहाँको भनाइ छ । दैनिक सरदर तीन हजारको हाराहारीमा सवारी साधन ओहोर दोहोर गर्ने सिद्धार्थ राजमार्गमा सिद्धबाबा क्षेत्र सर्वाधिक जोखिमको क्षेत्र मानिन्छ । चुरे क्षेत्र रहेको जम्मा तीन किलोमिटर सडकले सधैँ सास्ती दिइरहेको छ । पाल्पाको तिनाउ गाउँपालिका, दोभानका विष्णु पाण्डे बिहानै पढाउनका लागि बुटवलको एम्स कलेजमा आउनु पर्छ । दैनिक रूपमा दोभानबाट बुटवल आएर पढाउने पाण्डेले वर्षा लागेसँगै दुःखका दिन सुरु भएको बताउनुभयो । मोटरसाइकलमै आवतजावत गर्दछु, वर्षामा पहिरो खस्ने त्रासले सताइरहन्छ,’ उहाँले भन्नुभयो, ‘कति पटक त बाटो बन्द भएर बुटवल मै बस्नु परेको छ ।’ ठुलो पहाडको फेदीबाट बनेको सडकमा हिउँदको समयमा सुक्खा पहिरो र वर्षाको समयमा लेदोसहित खसेको पहिरोले सताउने गरेको उहाँको भनाइ छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पछिल्लो ९ वर्षको अवधिमा यो क्षेत्रमा ४२ वटा दुर्घटना भएका छन्, जहाँ ३३ जनाको मृत्यु छ । ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता एवं डीएसपी मोहनबहादुर खाणका अनुसार सिद्धबाबा क्षेत्रमा पहाडको माटो खुकुलो भएका कारण जति बेला पनि पहिरो र माथिबाट ढुङ्गा खस्न सक्ने जोखिम छ । हिउँदको समयमा मोटरसाइकल र स्कुटरको यात्रामा त मान्छेको स्वरुपनै नचिनिने गरी धुलोले ढाक्ने गर्छ भने ठुला सवारी टिपर, ट्रकको तीव्र गति, बस लगायतको धुलो र धुवाँले समेत यस क्षेत्रको स्थानीयका घरसमेत धुलाम्मे हुन्छन् । सरोकारवाला पक्षले ध्यान दिन नसक्दा दैनिक समस्या बल्झिँदै गएको स्थानीय महेन्द्र पाण्डेयले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update