रैनादेबी छहराको भुवनपोखरीमा बर्थिङ्ग सेन्टर तथा प्रयोगशाला सेवा शुभारम्भ

रानीमहल संवाददाता || ८ असार २०७९,बुधबार १४:४४
पाल्पा–रैनादेबी छहरा गाउँपालिका–३ भुवनपोखरीमा बर्थिङ्ग सेन्टर तथा प्रयोगशाला सेवा शुभारम्भ भएको छ । बर्थिङ्ग सेन्टर तथा प्रयोगशालाको रैनादेबी छहरा गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले शुभारम्भ गर्नुभएको हो । बर्थिङ्ग सेन्टर तथा प्रयोगशाला सेवा सुरु भएपछि यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा सहज हुनेभएको छ ।
कार्यक्रममा रैनादेबी छहरा गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई अब्बल बनाई अगाडि बढाउने बताउनुभयो । भुवनपोखरीमा बर्थिङ्ग सेन्टर तथा प्रयोगशाला सेवा सुभारम्भ भएको र आगामी दिनमा गर्भवती महिलाहरू सुत्केरी हुनका लागि पालिका भन्दा बाहिर जान नपर्ने उहाँले बताउनुभयो । रैनादेबी छहरा गाउँपालिका अध्यक्ष भट्टराईले स्वास्थ्य परिक्षण गर्नका लागि नागरिकहरूलाई टाढा जानु पर्ने परिस्थिति रहेता पनि हाल स्वास्थ्य चौकीबाट स्वास्थ्य परिक्षण सेवा शुभारम्भ गरिएको बताउदै स्वास्थ्य उपचारमा नागरिकहरूको पहुच पुग्न सहजता हुने बताउनुभयो ।
कार्यक्रममा नवनिर्वाचित वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रमुखहरु , पुर्व जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा अध्यक्ष प्रदिप पौडेलको अध्यक्षता र गाउँपालिकाका स्वास्थ शाखा प्रमुख जीवन रानाको विशिष्ट आतिथित्यतामा सम्पन्न भएको थियो ।