Erani Mahal
तानसेन र रामपुरको औद्योगिक ग्राम निर्माण सुस्त
Aaudhogik gram
पाल्पा – जिल्लाको दुई नगरपालिकाले तयार गरेको महत्वाकांक्षी औद्योगिक ग्रामको गुरुयोजना रकम अभावले कार्यान्वयनमा ढिलासुस्ती भएको छ । तानसेन र रामपुर नगरपालिकाले गतवर्षदेखि गुरुयोजना निर्माण गरेर औद्योगिक ग्रामका लागि आवश्यक पूर्वाधार निर्माण सुरु गरेपनि रकम अभावले औद्योगिक ग्राम निर्माण कछुवा गतिमा अगाडि बढेको छ । तानसेन नगरपालिकाले तयार गरेको औद्योगिक ग्रामको गुरुयोजना कार्यान्वयनमा ४५ करोड खर्च लाग्ने जनाएको छ । यद्यपी तानसेन नगरपालिकालाई हालसम्म ९२ लाख मात्र रकम मात्र प्राप्त भएको छ । औद्योगिक ग्रामका लागि तयार भएको गुरुयोजना पूरा गर्न बाँकी रकम कहाँबाट जुटाउने हो नगरपालिका अलमलमा परेको छ । सङ्घीय सरकारबाट दुई वर्ष अघि प्राप्त भएको ९२ लाख रकमबाट तानसेनको वडा नं. ७, कुनसरेमा औद्योगिक ग्राम निर्माणको प्रारम्भिक काम सुरु भएको छ । हाल जग्गा घेर्ने, तार लगाउने काम भइरहेको तानसेन नगरपालिकाका प्रमुख इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । गुरुयोजनाले निर्दिष्ट गरेका बाँकी कम्पोनेन्ट निर्माण गर्न रकम अभाव भएको श्रेष्ठले बताउनुभयो । गुरुयोजना अनुसार औद्योगिक ग्रामभित्र २२ प्रकारका स्टल रहनेछन् । घरेलु तथा साना उद्योगहरू समेत ग्रामभित्रै सञ्चालन हुनेछ । यस्तै त्यहाँ आवश्यक विद्युत्, खानेपानी, शौचालय, सडक, प्रशासनिक भवनको निर्माण गर्न रकम अभाव छ । रामपुर नगरपालिकाले भने गत वर्ष नै औद्योगिक ग्राम निर्माणको पहिलो चरणको काम सकेको जनाएको छ । रामपुर नगरपालिकाले पनि २२ करोड खर्च गर्ने गरी गुरुयोजना बनाएको छ । गुरुयोजना अनुसार औद्योगिक ग्राम बनाउन गत वर्ष ९२ लाख र यो वर्ष ८० लाख रकम सङ्घीय सरकारबाट प्राप्त भएको रामपुर नगरपालिकाले जनाएको छ । गुरुयोजना भित्रका अन्य संरचना निर्माण गर्न रकम अभाव छ । बहुवर्षीय योजना भएकाले गुरुयोजना अनुसार काम गर्न नगरपालिका र प्रदेश र सङ्घीय सरकारबाट सहयोग आउने रामपुर नगरपालिकाका सूचना अधिकारी रामहरी पाण्डेयले जानकारी दिनुभयो । हालसम्म रामपुरमा ७७ लाख खर्च गरेर रामपुरको वडा नं. ७ को विरेनटारमा ४२ रोपनी जग्गालाई बाउण्ड्री गर्ने, जग्गा व्यवस्थापन गर्ने तथा नदी कटानबाट जोगाउन पर्खाल लगाउने काम भएको छ । तर गुरुयोजना अनुसार काम केही वर्षभित्रै सम्पन्न गर्न भने रकम अभाव रहेको नगरपालिकाको भनाई छ ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update