Erani Mahal
प्रेस चौतारी पाल्पाद्वारा नव निर्वाचित जनप्रतिनिधिलाइ सम्मान
287972031_706838257206532_1128133163697322100_n
पाल्पा - प्रेस चौतारी नेपाल पाल्पा शाखाले स्थानीय तह सदस्य निर्वाचन - २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । प्रेस चौतारीको सदस्य र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो । शुक्रबार तानसेनमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख टंकनाथ खनाल र उप प्रमुख काशिका गैरेलाई सम्मान गरेको छ । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी , उपाध्यक्ष हरी प्रसाद पाठक , तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ , रम्भा गाउँपलिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी , उपाध्यक्ष राधा कुमारी श्रेष्ठ , माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदी , उपाध्यक्ष विष्णु कुमारी लुङचे , निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु , उपाध्यक्ष तिरन कुमारी श्रेष्ठलाई सम्मान गरेकोे हो । यसैगरी प्रेस चौतारीबाट जनप्रतिनिधिमा निर्वाचित हुनु भएको तानसेन नगरपालिका वडा नं. - ८ , का वडा अध्यक्ष सोमनाथ अर्याल , वडा नंं - ९ , का वडा अध्यक्ष राजेश कुमार अर्याल , बगनासकाली वडा नं. - ५ का वडा अध्यक्ष ओमप्रकाश गैरे , बगनासकाली कार्यपालिका सदस्य गिता रेग्मी , पुर्वखोलाका भुवन सिंजालीलाई सम्मान गरेको छ । सम्मानित जनप्रतिनिधिहरुलाई अबिर , माला र दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेको हो । सम्मान कार्यक्रमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुर गैरेले जनता समक्ष गरेका प्रतिवद्धता पूरा गर्नेगरि ५ बर्ष भित्र काम गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभएको छ । नेता गैरेले मुलुकमा अहिले डरलाग्दो गरी बिदेशी हस्तक्षेप बढदै गएको , गठवन्धन सरकारकै कारण मुलुकमा अन्याय , अत्याचार , महङ्गी बढेको भन्नुहुँदै गठवन्धन सरकार जति दिन सत्तामा रहन्छ त्यो जनताको लागि प्रशव पिडा भएको बताउनुभएको छ । नेकपा एमाले पाल्पा जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले एमाले पाल्पामा पहिलो पार्टी भई जनताको सेवामा जुटेको बताउनुहुँदै एमालेले जिल्ला समन्वय सहित ६ पालिका प्रमुख र ५ वटा उप प्रमुखमा विजयी भएका जनतप्रतिनिधिहरुलाई जनताको चाहना अनुसार काम गर्न अनुरोध गर्नुभएको छ । जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टंकनाथ खनालले जनप्रतिनिधिहरुले गरेका कामलाई पारदर्शी बनाउने काम पत्रकारहरुको रहेको बताउनुहुँदै जिल्लाका सबै पालिकासँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रेस चौतारी नेपाल केन्द्रिय अनुशासन आयोगका उपाध्यक्ष भगवान भण्डारीले जनताको घरदैलोमा पुगी जनता समक्ष गरेको प्रतिवद्धता , घोषणापत्र अनुसारको काम जनताले दिएको भावना र संविधानले दिए अनुसार काम गर्न सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका सहइन्चार्ज कमलराज तिमिल्सिनाले जनप्रतिनिधिहरुले राम्रो काम गरे सम्मान गर्ने अन्यथा बिरोध गर्ने बताउनुभएको छ । बरिस्ठ पत्रकार मेघराज शर्माले जनताको आशा , भरोसा , विश्वास दिलाउने गरी काम गर्न अनुरोध गर्नुभएको छ । सम्मान कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी , बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी , तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ पुर्बखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा , रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी लगायतले बोल्नुहुँदै पत्रकार र जनप्रतिनिधिहरु नङ र मासुको सम्वन्ध रहेको अवस्थामा आगामी दिनमा सहकार्य गरेर काम गर्ने बताउनुभएको छ । नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेयले पाल्पामा एमाले विगतको तुलनामा बलियो बन्दै गएको बताउनुभएको छ । कार्यक्रममा तानसेन नगरपालिका वडा नं. - ८ , का वडा अध्यक्ष राजेश कुमार अर्यालले आफु विगतमा पत्रकार रहेको र पत्रकारहरुको भावना समस्या बुझेकोले सोही अनुसार सहकार्य गरेर काम गर्ने प्रतिवद्धता गर्नुभएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुक्ति न्यौपाने , स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराईले पत्रकारमैत्री भएर काम गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभएको छ । कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय सचिव तुलबहादुर अधिकारीले आफ्नो धर्मपत्नी प्रतिक्षा अर्याल अधिकारीको नाममा ५० हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । अधिकारीले यस अक्षयकोषबाट शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्न अनुरोध गर्नुहुँदै आगामी ५ वर्षमा १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पुर्याउने घोषणा गर्नुभएको छ । प्रेस चौतारी नेपाल पाल्पा शाखाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा भएको सम्मान कार्यक्रम उपाध्यक्ष बन्दना पोखरेलको स्वागत र सचिव नारायण न्यौपानेको सञ्चालनमा भएको हो ।
प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update